काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसभित्र मात्र होइन मुलुकभर प्रभावशाली नेताका रुपमा चिनिन्छन खुमबहादुर खड्का ।
उनी दुरदृष्टि भएका नेताका रुपमा समेत कहलिन्छन् । कांग्रेसभित्र लामो समयदेखि पार्टीका एजेण्डाहरुमा खुलेरै विमति राख्दै आएका छन् ।
राष्ट्रियतामा बढी अडान लिने नेता भएरै होला उनको लोकप्रियतामा काहीकतै कमी छैन् । पद भनेको आज छ भोली छैन तर मुलुक र जनता नै तलमाथि पारेर लोकतन्त्र मासिए के होला ? यो पो महत्वपुर्ण हो ।
उनको सल्लाह र सुझावलाई दोस्रो जनआन्दोलनअघि देखि नै पार्टी नेतृत्वले ग्रहण नगर्दा अहिले नेपाली कांग्रेस यो अवस्थामा आइपुगेको छ ।
पार्टीको संगठनमा मुलुकभर राम्रो पकड भएका नेता खड्काले १२ बुँदे शान्ति सम्झौताका बेलादेखि नै कांग्रेस नेतृत्वलाई कम्युनिष्टको फेरो समातेर अघि नबढ्न सुझाव दिदै आएका थिए ।
मुलुकमा भएका प्रजातान्त्रिक आन्दोलनमा त्यसअघि एक्लै होमिएको कांग्रेसले त्यसयता पनि एक्लै अघि बढ्नु पर्ने खड्काको सुझाव थियो ।
हिन्दु धर्मको एजेण्डालाई पनि तत्काल नछोडि यसैलाई परिस्कृत गर्दै पार्टीको संगठनलाई सुदृढ बनाउन सकिने खड्काले सुझाएका थिए । उनको कुरालाई नेतृत्वले नसुनि अघि बढ्यो । कम्युनिष्टलाई खुसी बनाउन भन्दा मुलुकलाई धर्म निरपेक्ष बनाइयो ।
धर्म निरपेक्ष कम्युनिष्टको योजनालाई कांग्रेसले साथ दियो । अहिले आफुले गरेका गल्तीका कारण कांग्रेस पछुताएको छ । जनताले कांग्रेसले गरेका गल्तीको सवक सिकाउनका लागि मत दिन अस्वीकार गरेका छन् ।
जनताले दिएको दण्डबाट पाठ सिकेर अब आफ्ना पुराना मुद्दालाई बोक्दै जनता सामु गएर संगठन सुदृढ बनाउनतर्फ लाग्नु पर्ने अबको आवश्यकता हो । त्यही आवश्यकतालाई सिरोधार्य गर्दै अघि बढेमा कांग्रेसको पक्षमा जनलहर बढ्नेमा कुनै शंका छैन् ।
अब विगतका गल्ती र कमजोरीलाई सच्याएर आगामी मुलुकको विकासका योजना सहित जनता सामु जानुको विकल्प देखिन्न ।







