राजविराज  / मधेशवादी दलभित्र संसद बिक्रि गर्ने गिरोह लाई सक्रिय बनाएको छ । केही नेताहरुले आफनो नजिकका नेताहरुलाई पैसा लिएर संसदमा नाम सिफारिस गरिरहेको उच्च स्रतोलले यस अनलाईलाई जानकारी गराएको छ ।

मधेशवादी दलहरु भाषणमा मधेशीको अधिकारका चर्का कुरा गर्दछन् । तर अवसर दिनुपर्दा आफ्नै श्रीमती, नातेदार र आर्थिक चलखेलका आधारमा दिने गर्दछन् भन्ने कुरा यसपटकको प्रदेशसभाको समानुपातिक सांसद चयनले पुष्टी गरेको छ ।

विशेषगरी राष्ट्रिय जनता पार्टीले सांसद चयनको मापदण्ड मधेश आन्दोलनमा लागेका र सहिद परिवारका सदस्यलाई होइन, आफन्तवाद  र आर्थिक चलखेललाई आधार बनाएको आरोप छ । संघीय समाजवादी फोरमले प्रदेशसभाको समानुपातिकमा सकेसम्म सबैलाई समेट्न खोजेको छ ।

तर उसमाथि पनि यादवहरुलाई बढी प्रश्रय दिएको आरोप छ । फोरमले पाएका ९ जना प्रदेशसभाका सांसदमा ५ जना त यादवकै नाम निर्वाचन आयोगमा पठाइएको छ । फोरमले आफन्त र आर्थिक चलखेललाई आधार बनाएको गुनासो नसुनिए पनि राजपामा भने आफन्तवाद र आर्थिक चलखेलका आधारमा प्रदेशसभामा सांसद छनोट गरेको गुनासो छरपष्ट भएर कार्यालय नै तोडफोड भएको छ ।

राजपाका नेताहरु कुरा मुद्दाको गर्ने तर आफन्त र आफन्त नहुनेले मुद्रा लिएर सांसद बनाउने गरेको आरोपबाट यो पटक पनि मुक्त हुन सकेनन् । राजपामा विगतमा जस्तै श्रीमती र पे्रमिकालाई सांसद बनाउने क्रम यसपटक पनि दोहोरिएपछि मधेशमा दुःख गर्नेहरु निराश भएका छन् ।

राजपाका २ अध्यक्षले प्रदेशमा भाग पाइसकेका छन् । अर्का अध्यक्षले आर्थिक चलखेलका आधारमा एकजनालाई हालेका छन् । राजपाले प्रदेशसभाका पाएको समानुपातिक सिटमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती डिम्पलकुमारी झाले मौका पाएकी छिन् । अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महतोले पर्सा राजपाका कसैले नचिनेकी अन्जुकुमारी यादवलाई मुद्राकै आधारमा छानेका छन् ।

उनीसँग महतोले आर्थिक लाभ लिएको आरोप छ । अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवको कोटामा रामनरेश राय प्रदेशसभामा सिफारिसमा परेका छन् । रामनरेश रायले सर्लाहीका जिल्ला समन्वय समितिका सभापति मेथुड चौधरीमार्फत् महेन्द्र रायलाई आर्थिक सहयोग गरेकाले उनलाई समानुपातिकमा पारिएको चर्चा राजपामा छ ।

प्रतिनिधिसभामा पनि प्रदेशसभाकै जस्तो आफन्तवाद र आर्थिक लाभकै आधारमा ६ जना सांसद छनोट हुनेछन् । आफन्तवाद र मुद्राका अगाडि मधेश आन्दोलनमा योगदान गर्नेहरुको कुनै मूल्यांकन नहुने भएको छ । मधेशी नेताहरुले परिवार र आर्थिक चलखेलमा समानुपातिक सांसद बनाएपछि ‘सहादत सडकमा नाफा घरमा’ भन्दै ब्यंग्य गर्न थालिएको छ ।

प्रतिनिधिसभामा राजपाका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई पुनः यो पटक पनि समानुपातिकमा एक नम्बरमै सांसद बनाउने भएका छन् । २०७० मा समानुपातिकबाटै सांसद भएकी उनले ४ बर्षमा सदनमा एक शब्द पनि नबोली तलव भत्ता बुझिन् ।

सदनमा एक शब्द पनि नबोली तलव भत्ता बुझ्ने सांसदमा झाको नाम लिने गरिन्छ । अध्यक्षमण्डलका अर्का सदस्य शरदसिंह भण्डारीले प्रेमिका निर्जला राउतलाई समानुपातिक सांसदको सूचीमा अगाडि नै राखेका छन् । उनी यसअघि पनि समानुपातिकबाटै सांसद भएकी थिइन् ।

राजेन्द्र महतोले यसपटक श्रीमती शैलदेवीलाई समानुपातिकमा नराखी ब्यापार ब्यवसाय गर्ने नरमाया ढाकाललाई राखेका छन् । उनी पनि महतोको कोटाबाट सांसद हुने निश्चित छ । महतोले प्रदेशसभामा अन्जुकुमारी यादव र प्रतिनिधिसभामा ढकालबाट कुस्त मुद्रा लिएको आरोप राजपाभित्रैबाट लागेको छ ।

आर्थिक लाभ लिएर समानुपातिक सूचीमा ढकालको नाम राखेकोमा राजपाका नेताहरु धर्नामै बसेका थिए । प्रदेशसभामा रामनरेशलाई सांसद बनाएका अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभामा आफन्त  किरणकुमारी यादवको नाम राखेका छन् ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ब्यापारी लीलाराम भण्डारीलाई समानुपातिकमा राख्न दबाब दिइरहेका छन् । उनले प्रदेशसभामा कोटा नपाएका कारण भण्डारीलाई राख्नैपर्ने अड्डी कसेको स्रोतले बताएको छ ।

राजपा नेपालले प्रदेश नम्बर २ मा सिफारिस गरेका समानुपातिक सांसदहरुमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जुकुमारी यादव, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, रामप्रवेश बैठा र लैला खातुन छन् । प्रदेश ५ मा अब्दुल कादिर शेख र ७ नम्बर प्रदेशमा सुनिता चौधरी छन्, दृष्टिमा उल्लेख छ ।

फोरमबाट प्रदेश नम्बर १ मा रामचन्द्र लिम्बु र रामकुमारी यादव छन् ।  प्रदेश नम्बर २ मा चन्चमाया मोक्तान,  करिमा बेगम, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दु कुमारी यादव, चमेली देवी दास, किरण कुमारी यादव लगायत छन् । प्रदेश नम्बर ५ बाट भिमा यादव, गीता कुमारी श्रीवास्तव, लक्ष्मी चौधरी लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको