थकित अनुहार र पराजीत मानसिकतामा पुग्दा समेत नेतृत्वपंक्तीको अझै होस चेत खुलेको छैन र काँग्रेस सुर्धिने अवस्था अझै देखिएको छैन । पार्टी हितको नारा भाषणमा मात्र सिमित बन्न पुगेकाले गुट उपगुटको जरा स्थानीय तहसम्म फैलिएको छ । नेताहरु आगामी १४ औं महाधिवेशनलाई लक्षित गरी गुट उपगुटको डम्फु बजाउन व्यस्त रहेपछि निष्ठावान कार्यकर्ताहरु निरास बन्न थालेको काँग्रेसका इमान्दार कार्यकर्ताहरुले बताएका छन् ।
अहिले काँग्रेसभित्र देखिने गरि सभापति शेरबहादुर देउवा गुट र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट सतहमा आएपनि भित्रभित्रै अन्य उपगुटहरु पनि सञ्चालन भै रहेको छ ।
काँग्रेसको १३ औँ महाधिवेशनमा तेश्रो धारका रुपमा उदाएका कृष्ण प्रसाद सिटौला बाहेक खुमबहादुर खड्का गुट, कुलबहादुर गुरुङ्ग(केवी) र विजय गच्छदार गुट सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ । सभापति देउवा गुट भित्रै विमलेन्द्र निधिको पनि गुट सञ्चालन भै रहेको काँग्रेस श्रोतले बताएको छ ।
काँग्रेसको नीति, सिद्धान्त र नेतृत्वलाई बदल्ने तथा काँग्रेस सच्चिने उद्घोष गरेका पार्टी प्रवक्ता शर्माले काम्लामा पोखिएको सातु जस्तो बन्न पुगेको काँग्रेसलाई कसरी व्यवस्थीत गर्दछन्, भनी काँग्रेसवृत्तमा चर्चा चलेको छ । काँग्रेसमा युृवा नेता गगन थापाको परिक्षण भै सकेको छ ।
थापाको युवा जोश जाँगर विस्तारै थकित बन्दै गैरहेको अवस्थामा अव प्रवक्ता शर्माको परिक्षण हेर्न बाँकी रहेको समाचारमा जनाईएको छ । काँग्रेस भित्र थापा र शर्मा बाहेक चन्द्र भण्डारी, धनराज गुरुङ्ग प्रदीप पौडेल, गुरु घिमिरे र उमेशजङ्ग रायमाझि लगायतका युवा नेताहरु नेतृत्व परिवर्तन गर्न तम्सीए पनि उनीहरुलाई समेत नेतृत्वले ठेगान लगाउने र मोहमा फसाउने आशंका गरिएको छ । नयाँ विमर्शका साथमा ।







