काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ ।
वाम एकता तत्कालका लागि टरेको छ । राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री एमालेको भागमा पर्ने आनतरिक सहमती भने भएको उच्च स्रोतले बताएको छ । त्यसैगरि सरकार पनि आलो पालो गर्ने सहमती बनेको हो ।
एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै पार्टीका नेताहरुवीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको उच्च स्रोतको दाबी छ ।
‘हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’ एक माओवादी नेताले भने,‘उहाँहरुले अध्यक्ष नदिने भएपछि हामी पनि एकताकोलागि किन लम्पसार पर्ने त?’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ ।
हिजो ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।
स्रोतका अनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । राष्ट्रपति, उपराष्ट्र, सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो । सूत्रहरुले दिएको जानकारी अनुसार राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ ।
र, उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसको लागि एमाले नेताहरु पूर्ण रुपमा तयार भैसकेको बुझिएको छ ।
माओवादी केन्द्रका एक नेताले भने,‘तत्काल पार्टी एकता हुनै सक्दैन् । बरु सरकार सञ्चालनमा आलोपालो हुन सक्छ । सरकार गठन अघि एकता टर्यो भन्दा पनि हुन्छ।’
यसअघि एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको खबर आएको थियो ।
नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएसँगै यस्ता कुरा बाहिर आएका थिए ।
तर, अहिले आएर पार्टी एकता टरेसँगै अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूनः दोहोर्याउने सम्भावना कम भएको छ ।
उम्मेद्धवारलाई विजयी गराउन अन्य दलसँग कुरा गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यही माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउन अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको वाम गठबन्धनका कार्यदलका सदस्य एवम् एमाले नेता सुवासचन्द्र नेम्बाङ्ले जानकारी दिए ।
ओली र प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रिय सभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो ।







