काठमाडौं,९ फागुन । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
एमाओवादी केन्द्रका प्रचण्डसँग भएको पटक पटक वार्ता पछि मन्त्रीपरिषद् विस्तार हुने भएको हो । आफू प्रधानमन्त्री भएकै दिन दुई जनालाई मन्त्री बनाएका ओलीले आज एमाले र माओवादीबाट सरकारमा सहभागि हुनेलाई मन्त्री बनाउन लागेका हुन् ।
यसअघि माओवादी र एमालेबिचको पार्टी एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै माओवादीले सरकारमा जानेको नाम दिएको थिएन । तर सोमबार साँझ एकताको अधार तय गरेर हस्ताक्षर गरेसँगै माओवादी पनि सरकारमा सहभागि हुन लागेको हो ।
एमालेमा दुई दर्जन बढीले मन्त्री बन्ने चाहना राख्दा व्यवस्थापन पेचिलो बनेको छ । भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याललाई सम्भावित मन्त्रीका रुपमा हेरिएको छ ।
त्यसैगरी सरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङलगायतले पनि मन्त्रीको दाबी गरेका छन् ।
एमालेमा जस्तै माओवादीमा पनि मन्त्रीहरुको चर्चा सुरु भएको छ । माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतबाट मन्त्री हुन कस्सिएकाछन् । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन लागिएको हो । सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयलाई पठाएको प्रस्तावअनुसार प्रधानमन्त्री कार्यालयसहित १५ मन्त्रालय हुनेछन् ।
एकताको अस्थिरता र विभिन्न सकसका विच मन्त्रीपरिषद् विस्तारमा ओली र प्रचण्ड तयार भएका हुन् ।







