काठमाडौं- सरकारमा सहभागिताको विषयमा सहमतिको नजिक पुगेको बताइरहेका वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच अन्तिम समयमा सहमति जुट्न सकेन।

बुधबार साँझ दुवै पक्षबीच वार्ता भए पनि कुरा मिल्न नसकेपछि सहमतिपत्रमा हस्ताक्षर हुन सकेन। वार्ताका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गर्न सिंहदरबार पुगेका थिए।

बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले कुरा मिल्न नसके पनि छलफलको क्रम जारी रहेको बताए।

एमालेका सचिव प्रदीप ज्ञवालीले विषयवस्तुमा गम्भीर कुरा भए पनि समय अभावका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया दिए।

‘वार्ता सकारात्मक भएको छ। केही तयारी गर्न अझै बाँकी देखियो’, ज्ञवालीले भने।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान नौ बजे फेरि छलफलमा बोलाएको र छलफलपछि सहमतिमा पुग्ने उनले बताए।

संघीय फोरमलाई सरकारमा ल्याउन पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले छलफल तीव्र पारेका थिए। फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुन संविधान संशोधनको मुद्दा सम्बोधनको ग्यारेन्टी हुनुपर्ने अडान राख्दै आएका छन्।

यसअघि संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको पाँचबुँदे प्रारम्भिक खाका तयार भएको थियो।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको