काठमाडौं– राष्ट्रपतिको उम्मेदवार चयन, मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बैठक बस्दै छ।
निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारे छलफल गर्न आज दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्ण विष्टले बताए। वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन्।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेभित्र विवाद छ। बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तार लगायत विषयमा पनि छलफल हुने बुझिएको छ।
एमालेमा झलनाथ खनालले पनि राष्ट्रपति बन्न लबिङ गर्दै आएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने पक्षमा रहेको स्रोत बताउँछ।







