काठमाडौं- तस्करीको सुन बरामदपछि सुराकी प्रोत्साहन रकम लिन प्रहरीले फेक सुराकी राखेको खुलेपछि सरकारले सुराकीबापतको प्रोत्साहन भत्ता कट्टा ग-यो । यसको प्रत्यक्ष असर सुन तस्करसम्बन्धी अपराध अनुसन्धानमा देखिएको छ ।
प्रहरीका अनुसार सरकारले सुराकी रकम कट्टा गरेपछि सुन तस्करको सुराकी नै आउन छाडेको छ । प्रहरीको यो भनाइलाई पछिल्लोपटक तस्करको सुन बरामद भएको परिमाणले पनि पुष्टि गर्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
किनकि सुराकी रकम कट्टा गरेपछि तस्करविरुद्ध प्रहरीको अप्रेसन नै कम भएका छन् । जसका कारण पछिल्ला वर्षमा सुन नै कम बरामद भएका छन् ।
सरकारले ०७२ देखि सुनको सुराकी रकम कट्टा गरेको थियो । त्यस आर्थिक वर्षमा प्रहरीले जम्मा ६८ केजी मात्रै सुन बरामद गरेको छ ।
जब कि अघिल्लो आवमा १ सय ११ केजी सुन बरामद गरेको थियो । यो दर आव ०७३/७४ मा पनि घट्यो । यस आवमा प्रहरीले मुलुकभरबाट ९१.३८४ केजी मात्रै सुन बरामद गर्न सक्यो ।
सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीका अनुसार सुन तस्करको चलखेलका कारण सुराकी रकम कट्टा गरिएको हो ।
उनले भने, ‘सुन तस्करीको सुराकी रकम कट्टा गर्नुमा तस्करको ठूलो चलखेल भएको देखिन्छ । किनकि यसको प्रत्यक्ष फाइदा पुग्ने उनीहरूलाई नै हो । यसतर्फ सरकार सचेत हुुन आवश्यक छ ।’







