काठमाडौं । नेकपाका नेता भीम रावलले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नारा दिएको दल अहिले परीक्षामा परेको टिप्पणी गरेका हुन् ।
गृहमन्त्री गुरुङ हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको कथित व्यापारिक साझेदारीका कारण विवादमा छन्।
साथै, जेनजी आन्दोलनपछि खरिद गरिएको सेयर सम्पत्ति विवरणमा नखुलाएको आरोपसमेत उनीमाथि लागेको छ।
रावलले यस्तो संवेदनशील जिम्मेवारीमा रहेका गृहमन्त्रीबारे उठेका गम्भीर प्रश्नमा सरकारको स्पष्ट कदम आवश्यक रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘राज्यको आचरण, अनुशासन र सुरक्षासँग सम्बन्धित अत्यन्त संवेदनशील गृह मन्त्रालयको जिम्मेवारीमा रहेका गृहमन्त्रीको बारेमा सार्वजनिक भएका अत्यन्त गम्भीर विषयमा पारदर्शिता, सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताका कुरा गर्ने दल र प्रधानमन्त्रीले के गर्लान्, जनता हेर्दैछन्।’
साथै, उनले कटाक्ष गर्दै भनेका छन्, ‘अन्य दलका मन्त्री भए तत्काल पदबाट हटाई स्वतन्त्र न्यायिक छानबिन र कारबाही गरिनुपर्छ भन्ने रास्वपाको माग हुन्थ्यो, हैन त ?’







