काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीव्र आलोचना गर्दै संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
शुक्रबार जारी विज्ञप्तिमार्फत साम्पाङले प्रधानमन्त्री शाहले आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको र लोकतान्त्रिक प्रक्रियामार्फत जनताको विश्वास कमजोर बनाएको आरोप लगाएका छन् । साम्पाङले प्रधानमन्त्रीको गैरजिम्मेवारी देखाउने चार प्रमुख आधार उल्लेख गरेका छन्।
उनका अनुसार प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल बाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसद् बैठक छाडेको, नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएको तथा सांसदहरूको प्रश्नको जवाफ दिन उपस्थित नभएको आरोप छ। साथै उनले प्रधानमन्त्री आफ्नै कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको दाबी पनि गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले संसदलाई अपमान गरेको, संसदमार्फत जनताको लोकतन्त्रप्रतिको विश्वास लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा कायम गर्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल देखिन्छ।’
साम्पाङले प्रधानमन्त्री जनताको प्रश्नबाट भाग्ने प्रवृत्तिमा रहेको आरोप लगाउँदै संसद् र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको टिप्पणी गरेका छन्।
उनले अध्यादेशमार्फत सरकार सञ्चालन गर्ने प्रयासले संसद्को औचित्यमाथि प्रश्न उठाएको दाबी गर्दै सीमा सुरक्षा, विपन्न नागरिकको संरक्षण तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकारले न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसकेको आरोप लगाए।
अन्त्यमा उनले लोकतन्त्र र जनताको सम्मानका लागि प्रधानमन्त्रीले नैतिक रूपमा पदबाट राजीनामा दिनुपर्ने माग दोहोर्याएका छन्।








