राजविराज । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया एकतर्फी रूपमा भइरहेको आरोप लगाएका छन्।
सप्तरीको राजविराजमा बुधबार आयोजित नेपाली काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री कार्कीले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी मात्र विशेष महाधिवेशन गरिएको र त्यसकै आडमा क्रियाशील सदस्यता अध्यावधिक एकपक्षीय ढंगले अगाडि बढाइएको दाबी गरे। उनले यस प्रक्रियाले पार्टीभित्र असन्तोष बढाउँदै संगठनलाई कमजोर बनाइरहेको बताए।
कार्कीले पार्टीका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा नेपाली काँग्रेसको स्थापित पद्धति नै कमजोर बन्दै गएको उल्लेख गरे। विशेषगरी पार्टी सभापती गगन थापाप्रति लक्षित टिप्पणी गर्दै उनले नेतृत्व तहले समावेशी र लोकतान्त्रिक व्यवहार देखाउन नसकेको आरोप लगाए।
उनले पार्टी नेतृत्वलाई पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेका नेता तथा कार्यकर्तालाई तर्साउने प्रवृत्ति तत्काल बन्द गर्न माग गरे। वडा, पालिका, क्षेत्र र जिल्लाका सभापतिसहित जिम्मेवार नेता तथा कार्यकर्ताले प्रश्न उठाएको वा सैद्धान्तिक असहमति राखेकै कारण राजाको निरंकुश शासनकालजस्तै बर्खास्त गरिनु निन्दनीय रहेको उनको भनाइ थियो।
पूर्व मुख्यमन्त्री कार्कीले नेपाली काँग्रेस चाकरी गर्नेहरूको मात्र पार्टी नभएको स्पष्ट पार्दै भने, “ब्राखा र भैँसी चराउने सामान्य गरिब किसान पनि नेपाली काँग्रेस नै हुन्।” उनले पार्टीलाई जनमुखी, लोकतान्त्रिक र समावेशी बनाउँदै सबै कार्यकर्ताको सम्मान सुनिश्चित गर्न नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए।







