आन्दोलनको कुरा : गठबन्धनको सरकारलाई तर्साउने काम मात्रै
राजविराज–सप्तरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद अशोक कुमार मंडल अमरले मधेशी मोर्चा तथा संघीय गठबन्धनको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उनले मधेशका मुद्दाहरु संशोधन प्रस्ताव मार्फत सम्बोधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार रहेकोले त्यसमा शंका नगर्न आग्रह गरे ।
सांसद मंडलले प्रचण्डको नेतृत्वमा सरकार गठन हुने वित्तिकै मधेशी मोर्चा संग भएकाको तीन बुन्दे सहमति अनुसार मुद्दा फिर्ता लिने, शाहिद परिवार तथा घाइतेहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने निति अनुरुप रकम समेत उपलब्ध गराई सकिएको बताउँदै बाँकी काम पनि छिट्टै सरकारले गर्नेमा आफू विश्वस्त रहेको बताए ।
माईसञ्चार डटकम संग कुराकानी गर्दै सांसद मंडलले भने “सरकार गठन भए लगत्तै प्रधानमन्त्री दाहालले मधेशी मोर्चा तथा संघीय गठबन्धन संग गरेको तीनबुन्दे सहमति अनुरुप अगाडी बढ्नु भएको छ, मलाई लाग्छ संशोधन प्रस्ताव तायार गरी संसदमा दर्ता गराउने काम प्रति कमरेड प्रचण्ड दृढ हुनुहुन्छ ।”
उनले आन्दोलनमा घाईते भएकाहरुको क्षतिपूर्ती पार्टीले लिनु उचित नभएको बताए । मधेशी नेताहरुको आवाज बुलन्द गर्न मधेशीहरु शहिद भए, घाईते भए तर घाईतेको उपचार खर्च सरकारबाट कुनै पार्टीले लिनु उचित नभएको उनको तर्का छ ।
“सरकारबाट घाईतेको क्षतिपूर्ती वापत प्राप्त रकम मधेश आन्दोलनमा घाइते जनताले नै पाउनु पर्छ, कुनै दलगत पार्टीले होइन्” उनले भने ।
मंडलले मोर्चाले गरेको यस्तो निर्णय सच्चयाउन भन्दै मधेशी नेतालाई पैसा नदिन सरकार संग माग गरे । “सरकारी कोषको रकम शहिद परिवार र घाइतेहरुलाई दिइनु पर्छ । तर यहाँ लिला के भईरहेको छ भने पार्टीलाई दिने र पार्टीले त्यो पैसा शहिद तथा घाइतेहरुलाई दिने, यसमा भ्रष्टाचार हुने शंका सम्भावना छ” उनले भने ।
सरकारले संशोधन प्रस्ताव ल्याउनमा ढिलाइ गरिरहेको हेरेर मधेशी मोर्चाले आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ भन्ने प्रश्नको जवाफ दिंदै सांसद मंडलले भने “त्यो घुर्की मात्र हो मधेशी दलको । मलाई लाग्छ आन्दोलन गरेपनि जनता जाने छैनन् । उनीहरुको कुरा पनि जनताले हेरी सकेका छन् । आन्दोलन गर्छ भने अब त्यो कसको लागि हो ? नेताको लागि हो की जनताको लागि हो? तर, मलाई लाग्छ मधेशका नेताहरु अहिलेको गठबन्धनको सरकारलाई तर्साउन मात्रै त्यस्तो कुरा भन्दै छन् ।”