काठमाडौँ । भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप ११ टन राहत सामग्री पठाएको छ।

गत भदौ १० मा आएको विनाशकारी आकस्मिक बाढीपछिको राहत तथा उद्धारमा सघाउन भारतले यो सहयोग उपलब्ध गराएको हो ।

भारतीय विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाललाई औषधि, फोरेन्सिक सामग्री, पाल, हाइजिन किट, स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्रीसहित थप ११ टन राहत पठाएको छ। भारतले नेपालको पुनर्लाभमा सहयोग जारी राख्नेछ। छिमेक पहिलो नीति।’

नेपालमा आएको भीषण बाढीपछिको अवस्थासँग जुध्न राहत सामग्री बोकेर आएको यो भारतीय वायुसेनाको नवौँ विमान हो। बाढीका कारण ठुलो धनजनको क्षति हुनुका साथै १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने हजारौँ बेपत्ता छन्।

शुक्रबार भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवामा हालै आएको बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक्समा लेखेको छ, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेट गरे। मन्त्री वाग्लेले रसुवामा हालै आएको बाढीपछि उद्धार र राहत प्रयासमा भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए।’

दुवै मन्त्रीहरूले नेपाल-भारतबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने र विशेष गरी लगानी, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य बलियो बनाउने विषयमा छलफल गरेका छन्।

गत साता भारतले पठाएका सुरुङ उद्धार र फोरेंसिक सामग्रीसहितका राहत तथा उद्धारका सामान नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको थियो।

निरन्तर सहयोग
विनाशकारी बाढीपछि भारतले अगस्ट २६ देखि नौवटा विशेष उडानमार्फत राहत सामग्री, उपकरण र विशेषज्ञ टोलीको डेलिभरीलाई तीव्र बनाएको छ। भारतको यो पछिल्लो सहायता अगस्टको अन्त्यमा बाढी आएदेखि नेपाल पठाइएका मानवीय सहायताका शृङ्खलाहरूकै एउटा भाग हो।

सेप्टेम्बर ९ मा भारतको आठौँ राहत उडान ३५ टन राहत तथा उद्धार सामग्री लिएर काठमाडौँ पुगेको थियो। जसमा सुरुङ उद्धार उपकरण र फोरेंसिक सामग्री समावेश थिए। भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामग्री नेपाली अधिकारीहरूलाई हस्तान्तरण गरिएको बताए। भारतीय परराष्ट्र मन्त्रालयले यसअघि नै आठौँ भारतीय वायुसेनाको विमानले राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) को उपकरण, उद्धार सामग्री, फोरेन्सिक आपूर्ति र राहत तथा उद्धार कार्यमा खटिएका भारतीय सेनाका टोलीका लागि पुनःपूर्ति सामग्री ल्याएको जनाएको थियो।

भारतीय टोलीले रसुवाको चिलिमे सुरुङमा खोज तथा उद्धार कार्यमा नेपाली सेनालाई सहयोग गर्दै आएको छ। भारतको राहत अभियान अगस्ट २६ बाट सुरु भएको थियो, जब पहिलो विमान अस्थायी आश्रय, कम्बल, हाइजिन किट, सोलार ल्याम्प र औषधिसहित १० टन सहायता लिएर नेपाल पुगेको थियो। त्यसपछि अगस्ट २७ मा पाल, कम्बल, हाइजिन किट, सोलार ल्याम्प, डिवाटरिङ पम्प, किचेन सेट, जेनेरेटर, औषधि र खाद्य सामग्रीसहित ३७.५ टन राहत सामग्री बोकेको दोस्रो उडान आएको थियो।

त्यसपछिका खेपहरूमा विशेष खोज तथा उद्धार उपकरण र फोरेन्सिक क्षमताहरू समावेश थिए। अगस्ट ३० मा भारतले प्राविधिक उद्धार टोली र डिएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञहरूसहित ११ टन राहत सहायता पठाएको थियो। सेप्टेम्बर २ मा एक विमानले ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधि ल्याएको थियो। सेप्टेम्बर ४ मा थप दुईवटा सी-१३०जे विमान फोरेन्सिक किट र चिकित्सा सामग्रीसहित जम्मा २१.५ टन मानवीय सहायता लिएर काठमाडौँ पुगेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको