‘सीमा कडाइ नगरे नेपाली व्यवसाय छाप्रोमै सीमित हुन्छ’ : वरिष्ठ उपाध्यक्ष वैद्य
२०८३ आश्विन ४, आईतवार ०८:२८
राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा व्यापार–व्यवसाय चलायमान बनाउन सीमामा कडाइ आवश्यक रहेको बताएका छन्।
सप्तरी उद्योग वाणिज्य संघको १२औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै वैद्यले सीमा व्यवस्थापन प्रभावकारी भएका क्षेत्रमा व्यापार–व्यवसाय राम्रो अवस्थामा रहेको दाबी गरे। सीमा कडाइ नभएका क्षेत्रका व्यवसायी भने निरन्तर पीडित बन्दै गएको उनको भनाइ थियो।
‘सीमा कडाइ नहुँदा हाम्रो व्यवसाय घरबाट छाप्रो बन्दै गएको छ, उताका व्यवसाय छाप्रोबाट घर बन्दै गएको अवस्था छ,’ उनले भने।
सीमा क्षेत्रमा हुने अवैध आयात तथा अनियन्त्रित व्यापारका कारण स्वदेशी व्यवसायीले प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेकोतर्फ राज्यको ध्यानाकर्षण गराउँदै उनले व्यापार संरक्षणका लागि प्रभावकारी सीमा व्यवस्थापन आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष वैद्यले राष्ट्र बैंकका कतिपय नीतिका कारणसमेत व्यवसायी समस्यामा परेको उल्लेख गरे। पुराना ऐन, कानुन र नीतिगत व्यवस्थामा समयअनुकूल सुधार नगरेसम्म नेपालको व्यापार–व्यवसायले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो।
सरकारले व्यवसायीका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै वैद्यले व्यवसायीहरू पनि आफ्ना समस्या र अधिकारका विषयमा संगठित भएर आवाज उठाउनुपर्नेमा जोड दिए।
उनले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।