विनय कर्ण
राजविराज। सप्तरी जिल्लाका १८ वटै पालिकामा बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप लगाउने तयारी भएको छ ।
सात वर्षअघि पोलियो बिरुद्धको औषधी दिन छुटेका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई सो औषधी खुवाउने तयारी गरिएको हो ।
जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय सप्तरीले शुक्रबार संचारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएका हुन् ।
२०७३ बैशाख देखी २०७५ असोज सम्म जन्म भएका३४ हजार ७ सय ११ बालबालिकालाई लक्षित गरि आइपिभी (पोलियो रोग बिरुद्धको औषधी) खुवाउने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए ।
२०७३ सालतिर पोलियो रोग बिरुद्धको औषधी अभाव भएकाले त्यतीखेर छुटेका बालबालिकालाई लक्षित गरि पोलियो रोग बिरुद्धको आइपीभी खोप अभियान थालिएको उनले बताए ।
जेठ १३ देखी जेठ २५ सम्म जिल्लाको ८ सय ४० खोप केन्द्र मार्फत पोलियो बिरुद्धको औषधी खुवाउने तयारी गरिएको छ ।
पहिलो चरण जेठ १३ देखी १७ सम्म राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा खोप अभियान संचालन हुनेछ ।
यसै गरि दोश्रो चरणमा जेठ २२ देखी जेठ २५सम्म सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियान सफल बनाउन ८ सय ४० स्वास्थ्यकर्मी तथा १ हजार ६ सय ८० स्वयमसेवक जिल्लाका खोप केन्द्रहरुमा परिचालन हुने प्रमुख झाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शम्भु यादव, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. नितेश मिश्र, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. नागेन्द्र यादव तथा संचारकर्मीहरुको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost