काठमाडौं । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट न्यानो शुभकामना व्यक्त गरेका छन्।
सोमबार प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएका छन्।
श्रीवास्तवका अनुसार भेटमा नेपाल र भारतबीच रहेको बहुआयामिक तथा बलियो साझेदारीलाई थप गहिरो बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। भारतीय दूतावासले पनि भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको जनाएको छ।
प्रधानमन्त्री शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री बनेको करिब चार महिनापछि उनले नेपालका लागि भारतीय राजदूतसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन्।
यसअघि वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतका विदेश सचिव विक्रम मिस्रीसँग पनि प्रधानमन्त्री शाहले भेटका लागि समय नदिएको बताइएको थियो। त्यसपछि मिस्रीको प्रस्तावित नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो।
मिस्री नेपालमा नयाँ सरकारसँग संवाद गर्नुका साथै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलगायत दुई देशबीचका विषयमा छलफल गर्ने तयारीमा थिए।
तर पछिल्लो भेटसँगै प्रधानमन्त्री शाहले छिमेकी मुलुकका कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष संवाद अघि बढाउन थालेका छन्। मुलुकभित्र विभिन्न राजनीतिक तथा प्रशासनिक चुनौतीबीच प्रधानमन्त्री शाहले छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै कूटनीतिक संवादलाई अघि बढाउन खोजेको संकेतका रूपमा यस भेटलाई हेरिएको छ।
सोमबार बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।








