काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सन्देश हस्तान्तरण गरेका हुन् ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध, पारस्परिक हित र द्विपक्षीय सहकार्यका विविध विषयमा पनि विचारविमर्श भएको थियो ।
भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै राजदूत श्रीवास्तवले प्रधानमन्त्री मोदीको शुभकामना सन्देश प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । साथै, उनले नेपाल र भारतबीचको बहुआयामिक तथा सुदृढ साझेदारीलाई अझ गहिरो बनाउने विषयमा सकारात्मक र फलदायी छलफल भएको उल्लेख गरेका छन् ।
यता, प्रधानमन्त्री शाहको सचिवालयले पनि भेटमा नेपाल–भारतबीचको परम्परागत मित्रता, विकास साझेदारी तथा आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ ।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विचार आदानप्रदान गरेको सचिवालयको भनाइ छ ।







