काठमाडौं । भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Projects–HICDPs) सञ्चालनका लागि ८० करोड ३० लाख रुपैयाँ (८०३ मिलियन नेपाली रुपैयाँ) बराबरको अनुदान सहयोग गर्ने भएको छ।

यससम्बन्धी समझदारीपत्र (एमओयू) मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच हस्ताक्षर भएको हो।

सम्झौताअनुसार विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका पूर्वाधार निर्माण र प्रवर्द्धनसम्बन्धी परियोजना सञ्चालन हुनेछन्।

परियोजनाअन्तर्गत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) को डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र, धादिङको ज्वालामुखी गाउँपालिकामा कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ।

त्यस्तै, मोरङको बेलबारी बहुमुखी क्याम्पस भवन, दैलेखको डुंगेश्वर गाउँपालिकामा १० शय्याको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजना छ।

भारतीय दूतावासका अनुसार यी परियोजनाहरू नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिनेछन्। परियोजनाले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र कृषि पूर्वाधारको विकास तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

दूतावासका अनुसार भारतले सन् २००३ यता नेपालमा आज सम्झौता भएका आठ परियोजनासहित ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अघि बढाइसकेको छ।

तीमध्ये ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्। सम्पन्न तथा सञ्चालनमा रहेका परियोजनाहरू स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक तथा पूर्वाधार, सरसफाइ र सार्वजनिक उपयोगितालगायतका क्षेत्रमा केन्द्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको