काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहले लगाएको चस्मा र पोसाकको विषयमा केन्द्रित भएर संसदमा बहस नगर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कर्णले प्रधानमन्त्रीले कालो चस्मा र कालो पोसाक लगाएको विषयलाई राजनीतिक बहसको केन्द्र नबनाउन आग्रह गरे। उनले सरकारका काम, रोजगारी सिर्जना, सुशासन र विकासका विषयमा संसदमा गम्भीर बहस हुनुपर्ने बताए।

‘प्रधानमन्त्रीले कालो चस्मा लगाउनुभयो, प्रधानमन्त्रीले कालो ड्रेस लगाउनुभयो भन्ने विषयमा होइन, देश बनाउन सफा नियत भएका माननीयहरूले कालो चस्मा र कालो कोट होइन, आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागू गर्न बहस गर्नुपर्छ,’ कर्णले भने।

उनले सरकारले रोजगारी सिर्जनाका लागि गर्नुपर्ने काम तथा स्थानीय तहमा देखिएका बेथिति र भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणका विषयमा संसदको बहस केन्द्रित हुनुपर्ने बताए।

कर्णले विगतका सरकारका पालामा सत्तारूढ दलका शीर्ष नेताको निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट केन्द्रित भएको भन्दै सदनमा आलोचना हुने गरेको स्मरण गरे। ‘सत्तापक्षकै सांसदले बजेटमा बेइमानी भयो भनेर आरोप लगाउँथे। तर, अहिले निर्वाचन क्षेत्रमा बजेट परेन भनेर सरकारको आलोचना गरेको सुनिएको छैन,’ उनले भने।

उनले वर्तमान सरकारले सुशासनसहित देशलाई दिगो विकासतर्फ उन्मुख गराएको दाबी गर्दै संसदको बहस व्यक्ति केन्द्रित नभई एजेन्डा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘बहस एजेन्डा केन्द्रित हुनुपर्नेमा व्यक्तिकेन्द्रित भइरहेको छ,’ कर्णले भने, ‘हिन्दीमा एउटा भनाइ छ— “ये पब्लिक है, सब जानती है।”’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको