काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निरे भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई गुण्डागर्दीमा संलग्न आरोपमा वैशाख ३ गते बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।
ज्यान मार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा संलग्न रहेको अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी रहेको भट्टराईले बताए ।
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा रहेर गुण्डागर्दीमा समेत संलग्न रहेको आरोप छ ।
यसअघि पनि पौडेलविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।







