काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन् ।
अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् ।
केहिदिन अघि पार्टी महामन्त्री धवलशम्शेर राणाले एक अन्तर्वार्तामा जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएका थिए ।
राणाले दिएको सोहि भनाईलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने स्पष्ट पारेका हुन् ।
‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिधयाइन भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,’ उनले लेखेका छन् ।
यता राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पनि अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् ।
‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ– अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।







