काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ ।
आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट टाइप-५४ पेस्तोल चार थान र ५८ राउण्ड गोली बरामद गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ । बरामद गरिएका गोलीमध्ये ९ एमएम बेरेटा प्रकारका रहेका छन्।
महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको थियो ।
त्यसपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो ।
प्रारम्भिक आकलनमा यी हतियार जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ ।
साथै खोला आसपासको क्षेत्रमा हतियार तथा गोली फेला परेको घटनामा सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएको छ।







