काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको समूहले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्ने निष्कर्ष निकालेको छ।
आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा बसेको कोइराला समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
कोइराला समूहले अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा पुगेको बताएको छ ।
सर्वोच्चको निर्णय स्वीकारेर पार्टी सुदृढीकरणमा जोड दिने भन्दै नेता जीवन परियारले भने- ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ।’
सहमहामन्त्री परियारका अनुसार भेलाले दुई बुँदे निष्कर्ष निकालेको छ ।
छलफलमा निवर्तमान उपसभापति गुरुङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियासहित १४ केन्द्रीय नेताहरू सहभागी थिए।
यसअघि पार्टीभित्रको नियमित र विशेष महाधिवेशन विवादमा कोइराला समूह देउवा पक्षसँग उभिएको थियो।
सर्वोच्च अदालतको फैसलापछि कोइराला समूहपनि सभापति गगन थापाकै पक्षमा देखिएको छ ।
सोहिकारण आइतबार धुम्बाराहीमा जारी देउवा पक्षीय छलफलमा कोइराला समूह सहभागी भएको छैन।
पार्टीको आधिकारिक नेतृत्व थापाको पक्षमा गएको पछिल्लो विकास क्रमपछि देउवा निकट समूहले संगठनभित्रको भूमिकाबारे पुनः मूल्यांकन गर्ने क्रममा विभिन्न तहमा छलफल अघि बढाएको छ। जसका लागि धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
यस्ता छन् ती निष्कर्ष :
१.हामी सबैलाई विदितै छ । विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएता पनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौ । अब विशेष महाधिवेशन बारे सम्मानित सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ ।यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको ब्यहोरा जगजाहेर नै छ ।
२. वर्तमान अवस्थामा नेपाली कांग्रेस भित्र बृहत्तर हित, एकता र सुदृढ सङ्गठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ ।
यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आआफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछ ।







