राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेका श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि.भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले  विद्यालयको नयाँ भवन निर्माणले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न थप सहज वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

भारत–नेपाल विकास सहयोग अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) मार्फत निर्माण गरिएको उक्त भवनको कुल लागत २ करोड ८४ लाख ३२ हजार ३०१ रुपैयाँ रहेको छ । जसमध्ये २ करोड २७ लाख ४५ हजार ८४१ रुपैयाँ भारत सरकारको अनुदान रहेको छ भने ५६ लाख ८६ हजार ४६० रुपैयाँ ले व्यहोरेको बताइएको छ ।

परियोजनाअन्तर्गत विद्यालयको तीन तले भवन निर्माण गरिएको छ । भवनमा अतिरिक्त कक्षाकोठा, पुस्तकालय, बैठक कक्ष, शौचालय, कम्पाउण्ड वाल लगायत आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । यस्ता परियोजनामार्फत विद्यालय, अस्पताल, सडक, पुल, सिंचाइ, नदी नियन्त्रण तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा सहयोग भइरहेको उल्लेख गरिएको थियो ।

कार्यक्रममा दिइएको जानकारी अनुसार भारत सरकारले हालसम्म मधेश प्रदेशमा ८७ वटा परियोजना स्वीकृत गरेको छ । तीमध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । स्वीकृत परियोजनामध्ये ५४ वटा शिक्षा, ७ वटा स्वास्थ्य, ८ वटा सडक तथा पुल, १ वटा नदी तटबन्ध, २ वटा सिंचाइ, ३ वटा संस्कृति, ५ वटा विद्युतीकरण तथा अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित रहेका छन् ।

त्यस्तै सप्तरी जिल्लामा मात्रै ९ वटा परियोजना स्वीकृत भएका छन् । तीमध्ये ७ वटा सम्पन्न भइसकेका छन् भने २ वटा परियोजनामा काम जारी रहेको जनाइएको छ ।

यसैगरी भारत सरकारले मधेश प्रदेशमा हालसम्म २३२ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपलब्ध गराएको जानकारी दिइयो । तीमध्ये सप्तरी जिल्लाले मात्रै २६ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस प्राप्त गरेको बताइएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षामा पहुँच विस्तार गर्न यी साधनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।

वक्ताहरूले नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । “पडोसी पहिलो” नीतिअन्तर्गत भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरिएको थियो ।

उद्घाटन कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको