काठमाडौं । नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।
नेपालका प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेका भनाइ र त्यसपछि नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे प्रतिक्रिया दिँदै प्रवक्ता जयसवालले दुई देशबीच स्थापित संयन्त्रमार्फत नै यस विषयलाई टुङ्गो लगाइने बताए । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको हुनसक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहले दुई मुलुकको सीमा विवादका विषयमा इङ्ग्ल्याण्ड सरकारसँग पनि कुराकानी भइरहेको दाबी गरेका थिए ।
यसै विषयमा प्रवक्ता जयवसालले प्रतिक्रिया दिएका हुन् । उनका अनुसार भारत र नेपालबीचको करिब ९८ प्रतिशत सीमा क्षेत्रको सीमाङ्कन भइसकेको छ भने केही सीमित क्षेत्रहरूमा मात्र अझै सहमति हुन बाँकी छ । विशेष गरी गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा केही स्थानहरूमा प्राविधिक अस्पष्टता र विवाद उत्पन्न भएको उनले उल्लेख गरे ।
यसका साथै सीमाङ्कन भइसकेका क्षेत्रहरूमा पनि कतिपय ठाउँमा सीमा अतिक्रमण र दसगजा क्षेत्र मिचिएका घटनाहरू सार्वजनिक भएका छन्, जसलाई अहिले दुवै देशले संयुक्त रूपमा नक्साङ्कन गरिरहेका छन्।
भारतीय विदेश मन्त्रालयले सीमासम्बन्धी सम्पूर्ण विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न दुई देशबीच बलियो द्विपक्षीय संयन्त्र क्रियाशील रहेको स्मरण गराएको छ। प्रवक्ता जयसवालले भारत र नेपालको यो साझा मामिला भएकाले सम्बन्धित सबै पक्षलाई यसमा तेस्रो पक्षको कुनै स्थान वा आवश्यकता नरहेको कुरा प्रष्ट हुनुपर्नेमा जोड दिएका छन्।







