रौतहट । भारत सरकारको आर्थिक सहयोगमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ।
भारतको महावाणिज्य दूतावास, बीरगंजका वाणिज्यदुत देवी सहाय मीना    र    राजदेवी नगरपालिकाका मेयर श्री भिखारी प्रसाद यादवले  संयुक्तरूपमा रूपमा भवन निर्माणको शिलान्यास गर्नुभएको हो।

भारत सरकारद्वारा प्रदान गरिने नेपाली रुपैयाँ २ करोड ८४ लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना राजदेवी नगरपालिका मार्फत कार्यान्वयन गरिने जनाइएको छ।

निर्माण हुन लागेको नयाँ पूर्वाधारमा भुइँतला सहितको दुई तल्ले आधुनिक भवन रहनेछ। भवनमा कुल आठवटा कक्षा कोठा रहनेछन्, जसअन्तर्गत प्रत्येक तलामा चार–चारवटा कक्षाकोठा निर्माण गरिनेछ। साथै छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोक पिट, ट्युबवेल, सरसफाइसम्बन्धी संरचना, विद्युतीय जडान तथा अन्य आवश्यक सुविधाहरू समेत समावेश गरिनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा क्षेत्रको विकास नेपाल–भारत सहकार्यको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो। उहाँले गुणस्तरीय शैक्षिक पूर्वाधार निर्माणले स्थानीय बालबालिकालाई सहज र सुरक्षित सिकाइ वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले विद्यालयको भौतिक अवस्था सुधार गर्न भारत सरकारबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणपछि विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने र विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामुदायिक विकासका क्षेत्रमा भारत सरकारले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए।

भारत र नेपालबीचको घनिष्ठ तथा ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै विकास साझेदारीको भावनाअनुसार विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको छ। भारत सरकारद्वारा सञ्चालन गरिएका उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाल सरकारको विकास तथा समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विश्वास व्यक्त गरिएको छ।

नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माण सम्पन्न भएपछि राजदेवी नगरपालिका क्षेत्रका विद्यार्थीहरूले आधुनिक र सुविधासम्पन्न शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको