काठमाडौं। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यासको बिक्री–वितरणमा अनियमितता रोक्न विभिन्न डिपो तथा पसलमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पहुँच र चिनजानका आधारमा ग्यास बिक्री भइरहेको गुनासो बढेपछि सूक्ष्म निगरानीका लागि सादा पोशाकमा प्रहरी खटाइएको हो। प्रशासनले काठमाडौंका विभिन्न ग्यास डिपो, पसल र बिक्री केन्द्रमा नियमित अनुगमनसमेत गरिरहेको जनाएको छ।

प्रशासनका अनुसार केही ग्यास बिक्रेताले सर्वसाधारण उपभोक्तालाई भन्दा चिनजानका व्यक्ति, होटल तथा व्यवसायीलाई प्राथमिकता दिएर ग्यास बिक्री गरिरहेको गुनासो प्राप्त भएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “पहुँच र चिनजानका आधारमा कानूनविपरीत ग्यास बिक्री–वितरण गर्ने डिपो, पसल, फर्म तथा कम्पनीमाथि यस कार्यालय तथा अधिकारप्राप्त निकायबाट नियमित अनुगमन भइरहेको छ। सूक्ष्म निगरानी गरी प्रतिवेदन पेश गर्न सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।”

प्रशासनले पहुँचका आधारमा ग्यास बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा ग्यास सिलिन्डर लुकाएर भण्डारण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा सम्बन्धित व्यक्तिलाई हदैसम्मको कारबाही गर्नुका साथै लुकाइएका ग्यास सिलिन्डरसमेत जफत गरिने प्रशासनको भनाइ छ।

पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको छ। ग्यास पाउन उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न बाध्य भएको तथा वर्षाको समयमा समेत आधा भरिएको सिलिन्डरका लागि लाम लागेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।

यद्यपि, नेपाल आयल निगमले भने बजारमा ग्यासको आपूर्ति सहज रहेको र अभाव नभएको दाबी गर्दै आएको छ। निगमको दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबीच फरक देखिएपछि ग्यास वितरण प्रणालीमाथि प्रश्न उठ्न थालेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको