काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसको आन्तरिक विवादले नयाँ मोड लिएको छ। गत पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधतामाथि फेरि परीक्षण हुने भएको हो। बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएको छ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले गत वैशाख ४ मा सर्वोच्चको संयुक्त इजलासले गरेको फैसला पुनरवलोकन गर्न आदेश गरेको हो।

फैसला पुनरवलोकन हुनुपर्ने माग राखी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए। निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने गत वैशाखको सर्वोच्चको फैसला त्रुटिपूर्ण भएकाले बदर गर्नुपर्ने मागसहित उनीहरूले सर्वोच्च अदालतमा निवेदनमा दिएका थिए। उक्त निवेदनमा पुनरवलोकनका लागि निस्सा दिएपछि कांग्रेसको संस्थापन इतर पक्ष उत्साहित देखिन्छ।

खड्काले पार्टी आधिकारिता विवादमा पुनरवलोकनका लागि निस्सा दिने सर्वोच्चको आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको बताए।

‘सम्मानित सर्वोच्च अदालतको आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल दिनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले नेपालखबरसँग भने, ‘एकताका लागि सबैलाई प्रेरित गर्नेमा आशावादी छु। सम्मानित सर्वोच्च अदालतको आदेशले मेरो मनोबल उच्च बनाएको छ।’

निस्सा दिने आदेशले निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने संयुक्त इजलासको आदेश त्रुटिपूर्ण रहेको आफूहरूको दाबीलाई पुष्टि गरेको खड्काले बताए।

‘पूर्ण इजलासले पुनरवलोकन गर्न निस्सा दिएपछि यसअघि सर्वोच्चको संयुक्त इजलास र निर्वाचन आयोग दुवैको निर्णयमा खोट छ भन्ने पुष्टि गरेको छ,’ खड्काले भने।

सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको त्रुटि अब सुनुवाइको क्रममा सच्चिने खड्काले विश्वास व्यक्त गरे।

‘सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश कानुन र नजिर विपरीत भए पनि एक लोकतन्त्रवादीको हैसियतले मान्छु भनेको थिएँ। हिजो भएको त्रुटि अब सुनुवाइको क्रममा सच्चिन्छ भन्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘भोलि सर्वोच्च अदालतले सविस्तार सबै कुरा गर्ने छ। सबै कुरा हेरेर अगाडि बढ्दा हामीले न्याय पाउनेमा आशा जागेको छ।’

खड्काले पार्टी कुनै पनि हालतमा विभाजनमा जान हुन्न भन्ने आफ्नो अडानलाई आदेशले बल दिएको पनि बताए।

‘पार्टी कुनै पनि हालतमा विभाजन जान हुन्नु भन्नेमा म अडिग छु। त्यसलाई आदेशले बल दिएको छ। नेपालको अदालतले न्याय मर्न दिँदैन भन्ने विश्वास पनि पुष्टि भएको छ।’

अब पार्टी विभाजनमा लागेकाहरू सबैले आ–आफ्ना अडान, अहंकार र घमण्डलाई त्यागेर कांग्रेसको सम्पूर्ण एकताका लागि लाग्नुपर्ने उनको भनाइ छ। पार्टीको पूर्ण एकताका लागि आफूहरूले पठाएको सहमतिको प्रस्तावमा निर्णय गरेर पार्टी एकताको बाटोमा हिँड्न सभापति गगन थापालाई पनि निस्साले प्रेरित गर्ने खड्काको विश्वास छ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आदेशबाट आफूहरू उत्साहित भएको बताए।

‘सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको छ। यो सर्वाधिक खुसीको कुरा छ। संविधान, प्रचलित कानुन तथा पार्टीको विधान अनुसार फैसला आउने पूरा विश्वास छ,’ उनले भने।

यता कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई पुनः प्रस्तुत गर्ने बताए। हाल चीनमा रहेका शर्माले सामाजिक सञ्जालमार्फत पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने बताए।

‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको विषयमा पुनरवलोकनमा नगएको भए पनि लामो बहसपश्चात न्यायिक निरूपण भइसकेकै थियो,’ उनले लेखेका छन्, ‘यद्यपि पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पु‍र्‍याउनेछ।’

विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई न्यायालय समक्ष पुनः प्रस्तुत गर्न आफूहरू तत्पर रहेको शर्माको भनाइ छ।

‘संयम र परिपक्वतासाथ नेपाली कांग्रेसको विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुनः प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौँ,’ उनी भन्छन्।

इतर पक्षको भेलामा देउवा सहभागी हुने
कांग्रेस संस्थापन इतर पक्षले साउन २९–३१ का लागि बोलाएको राष्ट्रिय भेलालाई नीति सम्मेलनमा बदल्ने भएको छ।

‘सर्वोच्च अदालतको निस्सा दिने आदेशअघि एउटा परिस्थिति थियो। अब त्यो भेला वर्तमान परिस्थिति र पार्टीको आगामी नीतिमाथि केन्द्रित हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘पार्टीको राजनीतिक, आर्थिक र विधान सम्बन्धी विषयमा घनिभूत छलफल हुन्छ। हामी किन नियमित महाधिवेशनको पक्षमा उभिएका थियौँ, विशेष महाधिवेशन गर्दा भोग्नु परेको क्षतिका विषयमा कुरा हुन्छ।’

संस्थापन इतर समूहले राष्ट्रिय भेला तयारीका लागि ३२ उपसमिति बनाएर प्रतिवेदनको काम पनि थालिसकेको छ। इतर समूहले पार्टीका पूर्वमहामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा गठित राष्ट्रिय भेला मूल आयोजक समिति अन्तर्गत ३२ वटा उपसमिति बनाएको छ।

पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक, पूर्वसहमहामन्त्रीद्वय उमाकान्त चौधरीले सांगठनिक र प्रकाशशरण महतको आर्थिक प्रतिवेदन भेलामा पेस गर्ने छन्। यस्तै नेता एनपी साउदले समसामयिक र रमेश लेखकले विधानसम्बन्धी प्रस्ताव भेलामा पेस गर्ने छन्। भेलाले विशेष महाधिवेशन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको पराजयबारे समीक्षा गर्ने महतले बताए।

कांग्रेस नेता प्रकाशशरण महतले भेलामा पूर्वसभापति देउवा पनि सहभागी हुने बताए।

‘२९ गते राष्ट्रिय भेला हुन्छ। २६ गते शेरबहादुर देउवाजी पनि आउँदै हुनुहुन्छ। राष्ट्रिय भेलामा सम्बोधन गर्न उहाँलाई अनुरोध गर्छौँ। उहाँ राष्ट्रिय भेलामा सहभागी हुनुहुन्छ,’ उनले भने।

गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा अहिले हङकङमा छन्। साउन २७ गते राति ९ः४५ बजे उनी काठमाडौँ आइपुग्ने महतले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको