काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन धादिङको ज्वालामुखी गाउँपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहका अनुसार गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफूले मासिक रूपमा खाइपाइ आएको तलबबाट सात दिन बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत शाहले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
“विपद्को यो कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो,” शाहले भन्नुभयो, “त्यही भावनाअनुसार गाउँपालिकामा आबद्ध कर्मचारीले सात दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेका छौँ।”
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा जनधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीले बस्ती, बजार, सडक तथा विभिन्न संरचनामा समेत क्षति पुर्याएको छ।







