राजविराज । प्रतिनिधिसभा सदस्य ई. खगेन्द्र कर्णले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।
बुधबार बिहान छिमेकी मुलुक चीनतर्फको भोटेकोशी जलाधार क्षेत्रमा आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको भन्दै सांसद कर्णले प्रभावित सर्वसाधारण, कर्मचारी, व्यवसायी तथा अन्य नागरिकको तत्काल उद्धार र सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनका अनुसार रसुवागढी क्षेत्रमा सर्वसाधारण, भन्सार कार्यालयका कर्मचारी, बैंक तथा विभिन्न सरकारी–गैरसरकारी निकायमा कार्यरत कर्मचारी, पर्यटकलगायत केही व्यक्ति सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी आएको छ। घटनाको यथार्थ विवरण र क्षतिको पूर्ण अवस्था संकलन भइरहेकाले बेपत्ताको खोजीलाई तीव्र बनाउन उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सांसद कर्णले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाबीच प्रभावकारी समन्वय गरी खोज, उद्धार र राहतका कामलाई थप तीव्रता दिनुपर्ने बताएका छन्।
उनले प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा स्वयंसेवी शक्तिहरूलाई सरकारी र स्थानीय संयन्त्रसँग समन्वय गरेर सहयोगमा जुट्नसमेत अपिल गरेका छन्।
भोटेकोशी नदीको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाका नदी तथा तटीय बस्तीसमेत प्रभावित हुन सक्ने सम्भावना औँल्याउँदै कर्णले सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसतर्कता अपनाउन र आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी निकाय, गैरसरकारी संस्था, गैरआवासीय नेपाली संघ–संस्था, सामाजिक संघसंस्था तथा निजी क्षेत्रलाई मानवीय सहयोग, राहत र पुनःस्थापनाका कार्यमा हातेमालो गर्न उनले आग्रह गरेका छन्।
बाढी प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत, साधन तथा बजेट तत्काल व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेका छन्।
सांसद कर्णले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सम्पर्कविहीन रहेका सप्तरीलगायत विभिन्न जिल्लाका कर्मचारी, प्रहरी तथा नागरिकको तत्काल खोजी गरी सकुशल उद्धार गर्न सम्बन्धित सबै निकायसँग विशेष आग्रह गरेका छन्।
“विपद्को यस कठिन घडीमा सम्पूर्ण देशवासी एकजुट भएर मानवीय सहयोगमा जुटौं र प्रभावित नागरिकको जीवन रक्षा तथा पुनःस्थापनामा साथ दिऔं,” सांसद कर्णले अपिल गरेका छन्।







