ललिता साह

ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६ मा सहभागी हुन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको टोलीसँगै जापान भ्रमणमा रहँदाका अनुभूतिलाई शब्दमा सँगाल्ने प्रयास हो यो यात्रा संस्मरण।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट जुलाई २४ को बिहान जापानको नारिता विमानस्थलमा अवतरण गर्‍यौँ। झन्डै दुई दर्जन पत्रकारको टोलीले अनुशासित रूपमा अध्यागमनको सम्पूर्ण प्रक्रिया पूरा गर्‍यो। त्यसपछि शाखा सचिव अर्जुन लामिछानेको नेतृत्वमा नेपाल पत्रकार महासंघ जापान शाखाको आतिथ्यता स्वीकार गर्दै ट्रेनमार्फत नारिताबाट टोकियोतर्फ लाग्यौँ।

जापानी समयअनुसार बिहान नौ बजिसकेको थियो। अर्थात् कार्यालय जाने समय। जापानी नागरिकको दैनिक दिनचर्या सुरु भइसकेको थियो। मानिसले खचाखच भरिएका ट्रेनका डब्बाहरू दृश्यमा व्यस्त देखिन्थे, तर श्रव्यमा भने असाध्यै शान्त। यस्तो शान्त वातावरण हामी नेपालीका लागि केही विस्मयकारी थियो।

हामी नेपाली भने विश्वको जुनसुकै कुनामा पुगे पनि एक ठाउँमा भेट हुँदा नबोली बस्न सक्दैनौँ। बोल्ने, हाँस्ने र एकअर्कासँग घुलमिल हुने हाम्रो संस्कार नै हो। त्यसैले जापानी यात्रुहरू चुपचाप बसिरहेको एक घण्टे रेल यात्रामा हामी पनि सानो स्वरमै भए पनि आपसमा कुराकानी गरिरहेका थियौँ।

त्यही क्रममा जापानमा लामो समयदेखि बस्दै आएका एक साथीले हाँस्दै भने, ‘जापानको कुकुर पनि बोल्दैन, यिनीहरू त मान्छे हुन्।’

उनको यो भनाइभित्र जापानी समाजको एउटा गहिरो विशेषता लुकेको थियो—एकले अर्कालाई असहज नबनाउने, अरूको व्यक्तिगत समय र स्थानको सम्मान गर्ने र सार्वजनिक ठाउँमा अनुशासन कायम राख्ने संस्कार।

नौ दिनको जापान बसाइमा हामीले बिस्तारै महसुस गर्‍यौँ—जापानीहरू अनुशासनको उच्चतम तहमा बाँचेका छन्। उनीहरूले समयको महत्त्व बुझेका छन् र देशको विकासलाई व्यक्तिगत जिम्मेवारीका रूपमा लिएका छन्।

युद्धको भग्नावशेषबाट विकासको शिखरसम्म

दोस्रो विश्वयुद्धका क्रममा जापानका हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम प्रहार गर्दा ठूलो मानवीय क्षति भयो। युद्धको विनाशले जापानलाई गम्भीर संकटमा धकेल्यो। तर त्यसपछि जापानी नागरिकले गरेको संघर्ष, पुनर्निर्माण र मेहनतले विश्वलाई नै चकित बनायो।

आज त्यही जापान प्रविधि, अनुशासन, उत्पादन र आर्थिक विकासका क्षेत्रमा विश्वकै अनुकरणीय मुलुक बनेको छ। अध्ययन, रोजगारी तथा अनुशासित र कर्मशील जीवनशैलीका लागि विश्वका धेरै देशका युवाको रोजाइमा जापान पर्न थालेको छ।

टोकियो यसको एउटा उदाहरण हो। जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र टोकियो विश्वकै विकसित महानगरमध्ये एक हो। प्रविधि, अटोमोबाइल इन्जिनियरिङ, सटीक निर्माण तथा वित्तीय सेवामा यसको प्रभाव उल्लेखनीय छ।

विश्वका महँगा सहरमध्ये पर्ने टोकियोमा विश्वका ठूला ब्रान्ड तथा बहुराष्ट्रिय कम्पनीका मुख्यालयसमेत रहेका छन्। जापानको आर्थिक शक्ति केवल वस्तु बेच्नमा मात्र सीमित छैन। उसले विश्व बजारमा ब्रान्ड, प्रविधि, गुणस्तर र भरोसा बेचिरहेको छ।

आज सन् २०२६ मा संसार तीव्र रूपमा अघि बढिरहँदा जापानले आफूलाई समयभन्दा अगाडि रहेको देशका रूपमा प्रस्तुत गरिरहेको अनुभूति हुन्छ।

तर जापान यात्राको संस्मरण गरिरहँदा विकास र अनुशासनका यी सुन्दर पक्षसँगै यसको अर्को पाटो पनि देखियो—अप्रवासी परिवारको जीवन।

विशेषगरी जापानमा रहेका नेपाली युवा आमाबुवाले सन्तान हुर्काउँदा भोगिरहेको पीडा र पारिवारिक दूरीले मलाई यो लेख लेख्न बाध्य बनायो।

कडा बन्दै गएको आप्रवासन नीति

जापानले पछिल्लो समय विदेशी नागरिकको संख्या मात्र होइन, उनीहरूको व्यवस्थापन र सामाजिक समायोजनलाई पनि प्राथमिकतामा राख्दै आप्रवासनसम्बन्धी नियमहरू कडा बनाउँदै लगेको छ।

स्थायी बसोबास (पीआर) तथा नागरिकताका प्रक्रियामा कर, स्वास्थ्य बीमा, पेन्सन, आम्दानी तथा आर्थिक स्थायित्वजस्ता विषयमा कडाइका साथ मूल्यांकन गरिन्छ। जापानी भाषा, कानुन तथा सामाजिक नियमको ज्ञान र पालनालाई पनि महत्त्व दिइन्छ।

अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि कारबाही तथा देश निकाला प्रक्रियालाई समेत सरकारले थप प्रभावकारी बनाउने नीति अघि सारेको छ।

यस्ता नीतिले जापानमा दीर्घकालीन रूपमा बस्न चाहने विदेशीका लागि केवल आर्थिक आम्दानी पर्याप्त नहुने देखाउँछ। भाषा, कानुन, सामाजिक अनुशासन र आर्थिक स्थायित्व पनि उत्तिकै आवश्यक हुन्छ।

आफ्नै भाषा, संस्कृति र उत्पादनप्रतिको मोह

जापानको अर्को उल्लेखनीय पक्ष हो—आफ्नो भाषा, संस्कृति र उत्पादनप्रतिको गहिरो लगाव।

टोकियो, कुमामोतो, फुकुओका, ओसाकालगायत जापानका विभिन्न प्रिफेक्चरको आफ्नै पहिचान, संस्कृति र सामाजिक विशेषता छ। जापानी समाजमा आफ्नै भाषा, संस्कृति, कला, संगीत र उत्पादनलाई प्राथमिकता दिने प्रवृत्ति बलियो छ।

अंग्रेजी भाषाको प्रयोग जापानमा अन्य कतिपय विकसित देशको तुलनामा सीमित देखिन्छ। सरकारी विद्यालयमा बालबालिकाले जापानी शिक्षण वातावरणमै अध्ययन गर्छन्। आफ्ना बालबालिकालाई अंग्रेजी माध्यममा पढाउन चाहने अभिभावकले निजी विद्यालय वा अतिरिक्त शिक्षाको सहारा लिनुपर्ने अवस्था आउन सक्छ।

यसले भर्खरै जापान पुगेका नेपाली युवाका लागि थप आर्थिक चुनौती सिर्जना गर्छ। जापानमा निजी शिक्षा महँगो छ। त्यसैले आफ्ना बालबालिकालाई आफूले चाहेको शिक्षामा अघि बढाउन सबै नेपाली परिवारका लागि सहज हुँदैन।

सन्तानबाट टाढिएको एउटा बुबाको पीडा

दैलेखका रामचन्द्र लामिछाने १२ वर्षअघि जापान पुगेका हुन्। जापानमा बसेर काम गर्दै आएका उनी आफ्नो सानी छोरीलाई आफूसँगै राख्न नसकेर नेपालमा आफन्तको जिम्मामा राख्न बाध्य छन्।

जापानबाट नेपाल फर्किंदै गरेका साथी मुकुन्द भण्डारीलाई उनले छोरीको गृहकार्यका कागजात र केही सामान भएको झोला नेपाल पुर्‍याइदिन आग्रह गरिरहेका थिए।

छोरीसँगै बस्न नपाएको पीडा उनको अनुहार र आवाजमै झल्किन्थ्यो। आर्थिक रूपमा जापानले अवसर दिएको भए पनि सन्तानको बाल्यकालसँगै बिताउन नपाउँदाको पीडा कुनै आम्दानीले पूरा गर्न नसक्ने रहेछ।

त्यो क्षणमा एउटा बुवाको मनभित्रको छटपटी र उदासी सहजै अनुमान गर्न सकिन्थ्यो।

‘नियन्त्रित मातृत्व’को पीडा

नेपाल पत्रकार महासंघको लेखा सहायकको काम छाडेर जापान पुगेकी नुवाकोटकी रञ्जिता महतसँग तीन वर्षपछि टोकियोमा भेट भयो।

नवविवाहित अवस्थामा जापान पुगेकी रञ्जिताका लागि सुरुका दिनहरू निकै सुखद थिए। टोकियोको जीवन, नयाँ वातावरण र करियरको सम्भावनाले उनलाई उत्साहित बनाएको थियो। एक वर्षपछि उनले छोरी जन्माइन्।

करिब डेढ वर्षसम्म उनले छोरीलाई आफ्नै साथमा हुर्काइन्। तर परिस्थितिले उनलाई सानी छोरी नेपाल पठाउन बाध्य बनायो। अहिले छोरी नेपालमा हजुरआमासँग बस्छिन् र मोन्टेस्वरी पढ्छिन्।

नेपालबाट कोही जापान आउँदैछ भन्ने खबर पाउनेबित्तिकै रञ्जिता छोरीका लागि केही न केही सामान पठाउने प्रयास गर्छिन्।

जुलाई ३० को बिहान उनी मलाई भेट्न होटल रोयलको तल रहेको स्टोरमा पुगिन्। उनले त्यहाँ उपलब्ध भएजति चकलेट किनिन् र मेरो हातमा थमाइन्।

उनले भनिन्, ‘दिदी, राम्ररी दूधसमेत खुवाउन नसकेको सानी छोरीसँग छुटिएर बस्नुपर्दा यहाँ भएका सबै कुरा किनेर छोरीसम्म पठाइदिऊँ जस्तो लाग्छ। तर सम्भव हुँदैन। यो केही चकलेट, पानी खाने ट्युबलेट र लुगा भएको झोला छ, मेरी छोरीलाई लगिदिनुहोस्।’

पत्रकार महासंघको अघिल्लो कार्यकालमा समेत म केन्द्रीय सदस्य थिएँ। त्यसैले रञ्जितासँग मेरो पुरानै आत्मीयता थियो। तीन वर्षपछि भएको त्यो भेटमा उनको ‘नियन्त्रित मातृत्व’ देखेर म पनि केहीबेर भावुक भएँ।

मैले भनेँ, ‘बच्चाको सामान म लगिदिन्छु नि।’

तर उनले आफूलाई रोक्न सकिनन्।

‘अरू त ठीकै छ दिदी, तर भर्खर तोते बोली निकाल्न थालेकी बच्चासँग छुटिएर बस्नुपर्दाको पीडा असह्य हुन्छ,’ भन्दै रञ्जिता भक्कानिइन्।

त्यो क्षण जापानको चमकदार जीवनभन्दा धेरै पर एउटा आमाको मनभित्र लुकेको पीडा देखिरहेको थिएँ।

कमाइसँगै सन्तानको भविष्यको चिन्ता

जुलाई ३१ मा नारिता विमानस्थलमा नेपालबाट छोरी–ज्वाइँकहाँ जापान घुम्न आएका सासू–ससुरालाई जहाज चढाउन पुगेका चितवनका सन्दीप पाण्डेसँग मेरो भेट भयो।

त्यहीँ भएको सामान्य चिनजानले एउटा गहिरो पारिवारिक कथातर्फ डोर्‍यायो।

२० वर्षको उमेरमा जापान प्रवेश गरेका सन्दीपको जापान बसाइलाई १२ वर्ष पुगिसकेको रहेछ। उनले पनि आफ्नो बच्चाको भविष्यलाई लिएर चिन्ता व्यक्त गरे।

‘यहाँको भाषा र शिक्षण प्रणाली फरक छ। बच्चालाई अंग्रेजी पढाउन महँगो विद्यालयमा राख्नुपर्छ। अहिले मेरो दुई महिनाको बच्चा छ। ऊ पढ्ने उमेर भएपछि नेपालमै राख्ने सोचमा छु,’ उनले सुनाए।

जापानमा कमाइको अवसर भए पनि सन्तानको शिक्षा र पारिवारिक जीवन व्यवस्थापनका विषयमा नेपाली अभिभावकले ठूलो चुनौती सामना गरिरहेको उनको भनाइ थियो।

बिरामी हुँदा पनि आमाबुवाको चिन्ता

नेपाल पत्रकार महासंघ जापान शाखाबाट केन्द्रीय परिषद् सदस्यसमेत रहेकी काठमाडौं कलंकीकी इन्दिरा खनाल पनि टोकियोमा बस्छिन्।

दुई साना बच्चाकी आमा इन्दिरा भन्छिन्, ‘जापानमा बच्चा हुर्काउन कतिपय हिसाबले सहज छ। तर बच्चा राति बिरामी भयो भने तत्काल अस्पताल वा क्लिनिक खुला नहुन सक्छ। अप्रवासी परिवारका बालबालिकालाई पढाउन र हुर्काउन सबै कुरा सहज छैन।’

उनको अनुभवले जापानमा परिवारसहित बस्ने नेपालीका लागि कमाइसँगै बालबालिकाको स्वास्थ्य, शिक्षा, भाषा र सामाजिक समायोजन पनि ठूलो विषय भएको देखाउँछ।

कमाइको देश कि परिवारको परीक्षा?

जापान धेरै नेपाली युवाका लागि अवसरको देश हो। यहाँ रोजगारी छ, मेहनतको मूल्य छ र भविष्य निर्माण गर्ने सम्भावना पनि छ।

तर जापानमा बस्दै आएका नेपाली युवाका अनुभव सुन्दा अर्को यथार्थ पनि देखिन्छ—पैसा कमाउनु र परिवारलाई सँगै राखेर सुखी जीवन बिताउनु एउटै कुरा होइन।

कतिपय युवा आर्थिक रूपमा सफल भइरहेका छन्। तर त्यही सफलताको मूल्य सन्तानबाट टाढिनु, आमाबुवाबाट बच्चा अलग हुनु वा श्रीमान्–श्रीमतीले लामो समयसम्म पारिवारिक दूरी सहनु परेको छ।

आफ्नो देश छाडेर परदेशमा भविष्य खोज्न पुगेका नेपाली युवाका लागि यो एउटा गम्भीर द्वन्द्व हो।

एकातिर राम्रो कमाइ, सुरक्षित भविष्य र विकसित समाजको आकर्षण छ। अर्कोतिर आफ्नै सन्तानको बाल्यकाल गुमाउने पीडा छ।

जापानको अनुशासन, विकास र समृद्धिले संसारलाई धेरै कुरा सिकाएको छ। तर त्यहाँ बस्ने अप्रवासी नेपाली परिवारका कथा सुन्दा एउटा प्रश्न मनमा उब्जिन्छ—समृद्धि आखिर केका लागि?

यदि परिवारसँगै बसेर बच्चाको पहिलो बोली सुन्न, उसको पहिलो पाइला हेर्न र बिरामी हुँदा उसको छेउमा बस्न नपाइने हो भने आर्थिक समृद्धिको अर्थ कति पूर्ण होला?

जापानले संसारलाई प्रविधि, अनुशासन र विकासको पाठ पढाइरहेको छ। तर जापानमा रहेका नेपाली आमाबुवाका अनुभवले हामीलाई अर्को पाठ पनि पढाउँछन्—परिवारसँग बिताएको समय पनि जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो।

अन्ततः पैसा कमाउनेदेखि परिवारसहित जापानमै स्वर्णिम जीवन बसाउने सपना बोकेर पुगेका अधिकांश नेपाली युवाको चाहना पूर्ण रूपमा पूरा हुँदैन। उनीहरू पैसा कमाउँछन्, भविष्यका लागि बचत गर्छन्, तर पारिवारिक र मातृत्व जीवन भने सहज रूपमा अघि बढाउन कठिन भइरहेको स्वीकार्छन्।

सायद यही नै जापान यात्राबाट मैले बोकेर ल्याएको सबैभन्दा मार्मिक अनुभूति हो—विकासको शिखरमा पुगेको देशभित्र पनि एउटा आमाको मन सन्तानको सम्झनामा उत्तिकै व्याकुल हुन सक्छ।

लेखक नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ। यो आलेख ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६ मा सहभागी हुन जापान पुगेर फर्किएपछि उहाँले लेखेको यात्रा संस्मरण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको