काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीग्रस्त क्षेत्रको पीडा सरकारले सुन्न नसकेको गुनासो गरेका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले संघीय सरकार आकाश र सामाजिक सञ्जालमा देखिएपनि पीडितको अवस्थाका बारेमा बेखबर रहेको गुनासो पोखेका हुन् ।
अहिले प्रभावित क्षेत्रमा पीडितको चित्कार सुन्न नसकिने अवस्थामा रहेको उल्लेख गर्दै उनले प्रहरीको सहयोग माग्दा माथिको आदेशबाहेक केही गर्न नसकिने जवाफ आउने गरेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको त्यस्तै
सबैमा नमस्कार
यतिवेला म बाढीले सर्वनाश गरेको क्षेत्रमा नै छु। बाढीको सूचना जारी गर्न खटिनुभएका हाम्रो होनहार कर्मचारीहरू ४ जना अहिलेसम्म बेपत्ता हुनुहुन्छ भने १ सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचान पछि दाहसंस्कार गरिएको छ।
कार्यपालिका सदस्य ज्ञानु बिक, केही शिक्षकहरूसँग सम्पर्क हुन सकिरहेको छैन। बेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेसी, भूकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका झन्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशूली घद्य जलविद्युत आयोजनाको ठूलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशूली ज्ञ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामरहरू ठूलो संख्यामा हराइरहनु भएको छ ।
सुरूङ भित्र फसेको भन्ने खबर आइरहेको छ। गोसाईंकुण्ड र मानसरोवर यात्रामा निस्कनुभएको धेरै यात्रीहरू हराइरहनुभएको छ । हराइरहनुभएका नजिकका आफन्तहरूले सम्पर्क गरेर हारगुहार गरिरहनुभएको छ। सडक सम्पर्कबाट यो क्षेत्र पूर्णरुपमा विच्छेद छ।
विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समस्या आएको र मोबाइल अफ भएर सम्पर्क हुन सकिरहेको छैन। टिमुरे, स्याफ्रुबेशी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ। त्यो भन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र बेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ। घरबार विहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ।
मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालय देखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा पनि कुनै सुनुवाइ नभए पछि कालिकास्थान जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ । खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग समन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी बेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टर सहित ५र६ जना प्रजहरू खानापानी बेगर खटिरहनु भएको छ।
माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको व्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ। मैले अघि नै भने केही क्षेत्रमा बाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्ने गरी कुनै काम भएको छैन ।
जनताको प्रतिनिधि भएको र भुईँमा नै काम गरिरहेको स्रोत साधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौँ जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। । आफन्त गुमाएका र घरबार विहीनहरूको आवाज पनि हो। केही सञ्चार माध्यमलाई प्रतिक्रिया दिएको थिएँ। गृहमन्त्रीको सचिवालयबाट फोन आयो नकारात्मक प्रचार नगरिदिनुहोला राजनीति नगर्नुहोला भन्दै हुनुहुन्थ्यो ।
मैले जवाफ दिए हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस् हामी सरकार भएको अनुभूति गर्नेछौँ । म आबद्ध पार्टी छ, सबैभन्दा क्षमतावान् अनुभवी र दूरदर्शी नेतृत्व भएको दाबी गर्ने त्यसको नेतृत्व छ। २र२ पटक केन्द्रीय सदस्य भएको म केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्ट बाहेक कसैले खोजी गर्नुभएको छैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो र चिन्ता व्यक्त गर्नुभयो। सुरेन्द्र पाण्डे लगायत देशभरका नेता एवं सहयोद्धा साथीहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो।
सार्वजनिक सञ्जालमा देखे नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर । परिणाम विहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पिडा दिनेछ। के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्ने गरी गरौँ।
नेकपा एमालेको संस्कार र संस्कृति यही हो। यी विषयहरू मैले उठाउनै पर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।
अहिलेको अवस्था
.हाम्रो क्षेत्रका लगभग ३५० प्रभावितहरूलाई नीलकण्ठ मावि वोगटीटारमा राखेका छौँ ।
.कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न लगायतका अन्य सहयोग गरेर ठूलो पुण्यकर्म गर्नुभएको छ। यो खाद्यान्नले थप तीन दिनलाई धान्ने देखिन्छ ।
.विद्यालयको कोठाको भुईँमा कालो म्याट्रेसमा रात कटाउनुपर्ने अवस्था छ।
. मनकारी स्थानीय बासिन्दाहरूले घरमा नै आश्रय दिएर राख्नुभएको छ।
.नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक बालबालिकाहरू उनीहरूको संवेदनशील अवस्था अनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ।
.नदी किनारामा पचासौँको सङ्ख्यामा रहेका शवहरू सडेर गाउँ नै दुर्गन्धित हुन थालेको छ। जसको कारण सङ्क्रमण भई स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना छ।
.बिरामीहरूको सङ्ख्या बढ्दो क्रममा छ । उहाँहरूलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्नेछ।
.पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरैजना हुनुहुन्छ भन्ने खबर छ। त्यहाँ खाद्यान्न लगायत अन्य सामानको अभाव छ। उहाँहरूलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा आवासको व्यवस्था गर्नुपर्नेछ।
.त्रिशूली नदी वारी र पारी फस्नुभएका परिवारबाट विच्छेद हुनुभएका सदस्यहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्नेछ।
.केही सहयोगी संघसंस्थाहरूले सहयोग गर्ने कुरा गरिरहनुभएको छ । त्यसको लागि आवश्यक सहजीकरण गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।
.घरबारविहीनहरू, हराइरहनु भएकाहरू, अभिभावक विहीन बालबालिकाहरू, ध्वस्त भएका सार्वजनिक र व्यक्तिको घर लगायतको तथ्याङ्क सङ्कलन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारीसँग हिजो साँझ सम्पर्क भएको छ । उहाँले तत्काल गर्नुपर्ने काम आजबाट सुरु हुने जानकारी गराउनु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरूसित समन्वय गरेर आजबाट राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा माथि उल्लेख गरिएका कामहरू सुरु हुनेछ भन्ने विश्वास लिएको छु। आफन्त परिवार र घरबार विहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन् ।
धन्यवाद।







