ललिता साह
राजविराज । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको शोकमा नेपाल सरकारले सोमबार देशभर शोक मनाउने निर्णय गरेसँगै सप्तरीका सरकारी कार्यालयहरूले राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गरेका छन्।
सरकारी कार्यालय परिसरमा रहेका राष्ट्रिय झण्डा आधा झुकाएर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
यसैबीच, भूमि प्रशासन कार्यालय सप्तरीका भूमि प्रशासन अधिकृत अजय कुमारको उपस्थितिमा नेपाल लेखापढी व्यवसायी एसोसिएसन, भूमि प्रशासन इकाइ समिति राजविराज, सप्तरीले मैनबत्ती प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यक्रममा मृतकहरूप्रति गहिरो शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको इकाइ समितिका अध्यक्ष श्रीलाल यादवले जानकारी दिए।
यसअघि पनि नेपाल लेखापढी व्यवसायी एसोसिएसन, भूमि प्रशासन इकाइ समिति राजविराजले लेखापढी व्यवसायीहरूबाट सामूहिक रूपमा राहत रकम संकलन गरी ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको समितिका केन्द्रीय सदस्य जयनारायण देवले बताए।
बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत तथा उद्धार अभियानमा निरन्तर सहयोग गर्दै आएको समितिले जनाएको छ।







