जनकपुरधाम । मधेश आन्दोलनका वीर सहिदहरू सँजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा बिहिवार जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। सहिद सँजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा सहिदहरूको स्मरण, सम्मान तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम सम्पन्न भएको हो।

प्रतिष्ठानले बिहान जनकपुरधामस्थित सहिद गेटमा रहेका सहिद सँजय चौधरी, नितु यादव र दिलिप यादवका सालिकमा माल्यार्पण गर्नुका साथै सरसफाइ कार्यक्रम गरेको थियो।

त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको थियो।

त्यस्तै, मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा स्थानीय नेताहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताले मधेश आन्दोलनपछि आन्दोलनका शीर्ष नेताहरू पटक–पटक सरकार र सत्तामा पुगे पनि सहिदहरूको योगदान र बलिदानलाई उचित रूपमा सम्बोधन गर्न नसकेको आरोप लगाए। उनीहरूले मधेश आन्दोलनका उपलब्धि, वर्तमान राजनीतिक अवस्था र नेतृत्वको भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।

वक्ताहरूले मधेशको राजनीतिक नेतृत्व अब सुध्रिनुपर्ने र नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भइसकेको धारणा राखेका थिए। पछिल्लो निर्वाचनले शीर्ष नेताहरूप्रति जनताको असन्तुष्टि प्रकट गरेको दाबी गर्दै उनीहरूले यस्ता संवाद तथा समीक्षा कार्यक्रम मधेशका प्रत्येक जिल्लामा निरन्तर सञ्चालन गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका सहिदहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको त्यागलाई भावी पुस्ताले मार्गदर्शनका रूपमा लिनुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदको बलिदानलाई केवल स्मृति दिवस वा औपचारिक कार्यक्रममा सीमित नराखी उनीहरूले उठाएका अधिकार, पहिचान, सम्मान र सामाजिक न्यायका मुद्दालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

सहिद सँजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा सहिद सँजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता सँजय यादवले गरेका थिए।

कार्यक्रममा सहिद परिवार, सामाजिक अभियन्ता, युवा, स्थानीय राजनीतिकर्मी तथा मधेश आन्दोलनसँग जोडिएका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको