राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर गर्भवती महिलाले शिशु जन्माएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले छ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।

अस्पतालको मूल गेटबाहिर बबिता पासवानले शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएसँगै अस्पताल प्रशासनले सम्बन्धित कर्मचारीमाथि प्रारम्भिक कारबाही गरेको हो।

अस्पताल प्रशासनका अनुसार २०८३ साल भदौ २५ गते भएको उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासनसहित सम्बन्धित अन्य निकायले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्। छानबिन समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म तथा अर्को व्यवस्था नभएसम्मका लागि पाँच कर्मचारीलाई कामकाजबाट हटाइएको जनाइएको छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले २०८३ भदौ २६ गते पत्र जारी गर्दै स्टाफ नर्स मनीषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएका हुन्।

अस्पताल गेटमै प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको सेवा व्यवस्थापन, स्वास्थ्यकर्मीको जिम्मेवारी तथा बिरामीप्रतिको व्यवहारबारे प्रश्न उठेको थियो। घटनाको वास्तविक कारण, जिम्मेवारी र सेवा प्रवाहमा भएको सम्भावित कमजोरीबारे छानबिन समितिको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनले भने अन्तिम छानबिन प्रतिवेदन नआएसम्म सम्बन्धित कर्मचारीलाई कामकाजबाट अलग राखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको