काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक संवादमा सहभागिता जनाउँदै छन्। बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
नेपाल-भारत आर्थिक सहकार्य र द्विपक्षीय हितका विषयमा केन्द्रित भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। इन्डिया इन्टरनेसनल सेन्टरमा हुने उक्त कार्यक्रममा उनले दुई देशको कूटनीतिक तथा आर्थिक सम्बन्धबारे विचार राख्नेछन्।
भ्रमण तालिकाअनुसार अर्थमन्त्री वाग्लेले शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नेछन्। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, उनी भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जाभेद अशरफद्वारा भारत मण्डपममा आयोजित बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विविध आयामबारे उद्योगी-व्यवसायी र उच्चपदस्थ अधिकारीहरूसँग छलफल हुनेछ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
भ्रमणको तेस्रो दिन शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय टोलीसँग भेटघाट गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।







