राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरगाडामा विश्वकर्मा पूजाको अवसरमा आयोजित कुस्ती प्रतियोगिताको भएको छ । स्थानीय कालिमा पण्डित इँटा उद्योगको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानसहित वसन्त थापा लगायतका खेलाडीहरूको रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी हुँदै पूर्वप्रदेशसभा सदस्य तथा युवा नेता विदेश्वर प्रसाद यादव ‘विक्की’ ले विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्दै कुस्ती जस्ता मौलिक खेल संस्कृतिको संरक्षणमा जोड दिए।
यादवले विश्वकर्मा पूजा केवल भगवान विश्वकर्माको आराधना गर्ने दिन मात्र नभई श्रम, सीप, कला र सिर्जनाको सम्मान गर्ने अवसरसमेत भएको बताए। गाउँ–समाजमा पुस्तौँदेखि चलिआएको कुस्ती संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुपर्ने उनको भनाइ थियो।
उनले “कुस्ती केवल मनोरञ्जनको खेल नभई अनुशासन, आत्मविश्वास, शारीरिक क्षमता, धैर्य र प्रतिस्पर्धाको भावना विकास गर्ने माध्यम हो” भन्दै स्थानीयस्तरमा खेलमैदान, प्रशिक्षण केन्द्र तथा आवश्यक खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
युवालाई सही दिशामा अघि बढाउन शिक्षासँगै खेलकुद, सीप र रोजगारीका अवसर आवश्यक रहेको उल्लेख गर्दै यादवले स्थानीय विकास भन्नाले सडक, पुल र भवन निर्माण मात्र नभई स्वस्थ युवा, दक्ष जनशक्ति, गुणस्तरीय शिक्षा, खेलकुदको विकास र रोजगारी सिर्जनालाई समेत बुझ्नुपर्ने धारणा राखे।
जनप्रतिनिधि तथा राजनीतिकर्मीको जिम्मेवारी जनताको आवश्यकता पहिचान गरी उपलब्ध स्रोत–साधनलाई सही क्षेत्रमा परिचालन गर्नु रहेको बताउँदै उनले यस्ता सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमबाट उठेका आवश्यकतालाई स्थानीय विकास योजनासँग जोडेर अघि बढाउनुपर्ने बताए।
यादवले राजनीतिक दल विशेषभन्दा माथि उठेर समुदाय, युवा र खेलाडीको हितमा केन्द्रित हुनुपर्ने धारणा राख्दै राजनीति समाज जोड्ने, विकास अघि बढाउने र नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै उनले खेलमा प्रतिस्पर्धा भए पनि आपसी सम्मान, सद्भाव र भाइचारा कायम राख्न आग्रह गरे।
कार्यक्रमको आयोजना गरेको कालिमा पण्डित इँटा उद्योग लाई धन्यवाद दिँदै यादवले यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।







