गोरखा । बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
यस्तै, तीन वटा हाइड्रोपावर आयोजनामा क्षति पुग्नुका साथै यातायात र आवतजावत ठप्प हुने गरी २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।
बाढीमा परी बेपत्ता भएका ५ जनाको खोजी तथा प्रभावितको राहत र उद्धारका लागि ५३८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।








