सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, कोइलाडीस्थित मुसहर बस्तीका ५२ परिवार वर्षौँदेखि घरजग्गाको लालपुर्जा पाउने प्रतीक्षामा छन्। बाढीपछि निर्माण गरिएको बस्तीमा बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नपाउँदा उनीहरू अझै असुरक्षा र अन्योलमा जीवन बिताउन बाध्य छन्।
२०७४ सालको बाढीपछि तत्कालीन पत्रकार तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा उक्त बस्ती निर्माण गरिएको थियो। तर, बस्ती निर्माण भएको वर्षौँ बितिसक्दा पनि त्यहाँका परिवारले बसोबास गरिरहेको जग्गाको स्वामित्व पाउन सकेका छैनन्।
स्थानीयवासीको यही समस्या बुझ्न शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कोइलाडीस्थित मुसहर बस्ती पुग्नुभएको छ। उहाँले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र माग सुन्नुभएको हो।
स्थानीयवासीले मन्त्रीसमक्ष जग्गाको लालपुर्जा नपाएको समस्यादेखि बाढी, शीतलहर, आवासको अभाव र दैनिक जीविकोपार्जनको कठिनाइसम्मका पीडा सुनाएका थिए।
स्थानीय बिलास सदाका अनुसार बस्तीमा ५२ परिवारका घर छन्। तर, बाढीका बेला घरभित्रै पानी पस्ने र हिउँदमा शीतलहरका कारण कठ्याङ्ग्रिएर बस्नुपर्ने अवस्था अझै कायम छ। परिवारको सङ्ख्या बढ्दै जाँदा उपलब्ध घर र कोठा पर्याप्त नभएको भन्दै स्थानीयवासीले आवास विस्तार र जग्गाको क्षेत्रफल बढाउनुपर्ने मागसमेत गरेका छन्।
बस्तीका बिलास सदा, अघुनु सदा, बुधाई सदा, जितेन्द्र सदा, शिवचरण सदा, सञ्जीव सदा र इन्द्रजित सदालगायतले जग्गाको स्वामित्व सुनिश्चित गर्न तथा आधारभूत जीवनयापनका समस्या समाधान गर्न मन्त्री रावलको ध्यानाकर्षण गराएका थिए।
स्थानीय सरोदेवी सदाले गरिबी र बेरोजगारीका कारण परिवारको छाक टार्नसमेत कठिन भइरहेको पीडा सुनाउनुभयो। उहाँका दुई छोरा छन्। दैनिक ज्यालादारीमा काम पाएको दिन मात्र परिवारको गुजारा चल्ने र काम नपाएको दिन खानाकै समस्या हुने उहाँले बताउनुभयो।
एउटै घरमा आफू, बुहारी र छोरी बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले आर्थिक अवस्था कमजोर भएकाले थप जग्गा वा घडेरी किनेर छुट्टै बसोबासको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो।
लालपुर्जाका लागि स्थलगत अध्ययन गरिने
मन्त्री रावलले मुसहर बस्तीका परिवारको मुख्य समस्या जग्गाको स्वामित्व रहेको उल्लेख गर्दै यसको समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार बस्तीका परिवारले भोगचलन गर्दै आएको जग्गा दर्ता भए–नभएको, बस्ती खोलानालाको जोखिममा रहे–नरहेको तथा जग्गाको वास्तविक अवस्थाबारे स्थलगत अध्ययन गरिनेछ।
आगामी सोमबार बस्तीको वास्तविक अवस्था, जग्गाको विवरण, घरपरिवारका सदस्य सङ्ख्या र स्थानीयवासीले भोगिरहेका समस्याबारे विस्तृत विवरण सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो।
मन्त्री रावलले प्रचलित नियम र कानुनअनुसार जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो। कानुनी मापदण्ड पूरा गर्ने परिवारलाई लालपुर्जा उपलब्ध गराइने र मापदण्ड पूरा नभएका परिवारका हकमा समेत कानुनअनुसार जग्गाको स्वामित्व प्रदान गर्न सकिने विकल्पबारे पहल गरिने उहाँको भनाइ थियो।
वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेका सदा समुदायका परिवारलाई कानुनी प्रक्रियामार्फत जग्गाको स्वामित्व दिलाउने उद्देश्यले विवरण सङ्कलन गर्न लागिएको मन्त्री रावलले बताउनुभयो।
समस्या बुझ्न जनप्रतिनिधि र सुरक्षा अधिकारीसमेत बस्तीमा
मुसहर बस्तीको समस्या बुझ्न मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नं. ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्का तथा राजविराज नगरपालिकाका पूर्वप्रमुख शम्भु यादवसमेत बस्ती पुग्नुभएको थियो।
यसअघि मन्त्री रावलले जिल्लाका प्रसिद्ध धार्मिकस्थल छिन्नमस्ता भगवती र कङ्कालिनी भगवती मन्दिरमा पुगेर दर्शनसमेत गर्नुभएको थियो।
बस्ती निर्माण गरेर आश्रय त दिइयो, तर वर्षौँ बितिसक्दा पनि लालपुर्जा नपाउँदा ५२ परिवारको जग्गामाथिको अधिकार अझै अनिश्चित छ। मन्त्रीको स्थलगत निरीक्षण र प्रतिबद्धताले उनीहरूमा आशा जगाएको छ। अब स्थानीयवासीको प्रतीक्षा आश्वासनमा मात्र सीमित रहन्छ वा लालपुर्जामार्फत वास्तविक जग्गाधनी बन्ने अवसर प्राप्त हुन्छ, त्यो भने आगामी प्रक्रियाले निर्धारण गर्नेछ।







