राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताहरूसँग खिचिएका तस्बिरलाई राजनीतिक पहुँच र आगामी निर्वाचनको टिकट सुनिश्चित भएको प्रमाणका रूपमा प्रस्तुत नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

लामिछानेले नेताहरूसँग भेटघाटका क्रममा खिचिएका तस्बिर देखाएर आफू पार्टी नेतृत्वको निकट रहेको वा आगामी निर्वाचनमा उम्मेदवारीको टिकट आफूले नै पाउने भन्दै प्रचार गर्नु उचित नभएको बताएका हुन्।

उनले भनेका छन्, “एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू कार्यकर्ता र शुभेच्छुकहरूबाट घेरिएका हुन्छन्। त्यही क्रममा धेरै साथीहरू तस्बिरमा देखिनुहुन्छ। दिनहुँ यस्ता तस्बिर खिचिन्छन्। ती तस्बिर देखाएर कतिपय साथीहरूले ‘यसपटकको उम्मेदवार मै हुँ’ भन्नसमेत भ्याउनुहुन्छ होला।”

कार्यकर्ता तथा शुभेच्छुकहरूको मायाप्रति आभार व्यक्त गर्दै लामिछानेले त्यस्ता तस्बिरलाई भेटघाटको सुन्दर स्मृतिका रूपमा मात्रै सुरक्षित राख्न आग्रह गरेका छन्।

“म तपाईँहरूको त्यो प्रेमप्रति कृतज्ञ छु। तर त्यो फोटो बेच्न त पाइँदैन। त्यो तपाईँ र मेरो भेटको एउटा सुनौलो क्षण बनेर कतै कैद भएर बसोस्, म त्यसमा गर्व गर्नेछु। तर त्यही फोटो देखाएर ‘म निकै नजिक छु, मैले नै टिकट पाउने हो’ भन्दै प्रचार गर्न पाइँदैन,” उनले स्पष्ट पारे।

लामिछानेको यो अभिव्यक्तिले नेतासँगको व्यक्तिगत निकटता र तस्बिरलाई उम्मेदवारीको सम्भावना वा टिकट पाउने आधारका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ। साथै, पार्टीभित्र उम्मेदवारीको विषयमा व्यक्तिगत पहुँचभन्दा संस्थागत प्रक्रिया र निर्णयलाई महत्व दिनुपर्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको