काठमाडौं । नेपाली काँग्रेसले हालै सम्पन्न निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।
कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी गराएका हुन् ।
उनले भने- ‘ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको हाम्रो निष्कर्ष छ ।’
केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाइ छ ।
उनले भने- ‘दलको चुनावभन्दा पनि, दल वा उम्मेदवारलाई रोजेको भन्दा पनि प्रतिक्रियामात्रै दिएको मत जस्तो देखियो । उम्मेदवार नदेखी, नचिनी मतहरू प्राप्त गरेका छन् नि त । उम्मेदवारी छैन तर पनि मत त प्राप्त छ । भोटिङ बिहेभियरको ट्रेन्डलाई हामीले अत्यन्तै वैज्ञानिक र वस्तुगत आधारमा विश्लेषण गरेनौँ भने हामी निचोडमा पुग्न सक्दैनौँ ।’
मतदाताको मनोविज्ञानमा आएको यस्तो परिवर्तनलाई वर्तमान प्रणालीसँग जोडेर विश्लेषण नगरी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ। उनले मतदाताको व्यवहारगत प्रवृत्तिलाई वैज्ञानिक र वस्तुगत आधारमा अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।
साथै पार्टीको दीर्घकालीन प्रभाव रहेका केही क्षेत्रमा यसपटक असर परेको निष्कर्ष निकाल्दै काँग्रेसले त्यस्ता क्षेत्र पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्ने उनले बताए ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ स्थानमा जित हासिल गरेको काँग्रेस दोस्रो राष्ट्रीय पार्टी बनेको छ।
निर्वाचनमा भोगेको हारपछि कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय-पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्ने भनेको थियो।
त्यसैले कांग्रेसले आजको बैठकमा निर्वाचनमा विजय-पराजय दुवैको कारणसहित समीक्षा र रिपोर्ट रिपोर्ट साझा गर्दै यस्तो निष्कर्ष निकालेको छ ।







