राजविराज । सप्तरीको बलानबिहुल गाउँपालिका–स्थित बेलही प्रहरी चौकी क्षेत्रमा पछिल्लो समय दैनिक तस्करी बढ्दै गएको छ । स्थानीयका अनुसार प्रहरी र केही व्यापारीबीचको मिलेमतोका कारण सीमावर्ती भारतीय बजारतर्फ अवैध ओसारपसार निर्वाध रूपमा भइरहेको छ ।
नेपालबाट सीमावर्ती भारतीय बजारतर्फ मदिरा लगायतका सामग्री तस्करी हुने गरेको छ भने भारतीय बजारबाट किराना सामान, लत्ताकपडा नेपालतर्फ अवैध रूपमा भित्र्याइने गरिएको छ । यसका साथै गिटी–बालुवाको अवैध कारोबारसमेत बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।
तस्करले मोटरसाइकल, साइकल, पिकअप भ्यान र ट्रक प्रयोग गरेर दैनिक रूपमा तस्करी गर्दै आएका छन । आकलझुक वा देखावटीका लागि कहिलेकाँही थोरबहुत अबैध सामग्री नियन्त्रणमा लिने गरेको एक व्यापारीले नाम नछाप्ने शर्तमा बताउनुभयो । घरेलु प्रयोजनका थोरै सामान ल्याउँदा पनि पक्रिने तर ट्रकका ट्रक रक्सी, गिटीवालुवा जाँदा प्रहरीले नदेखिने स्थानीय जितेन्द्र यादवले बताउनुभयो । जिल्लामा उक्त नाका गाँजा तस्करी हुनेमध्येको एक मानिने गरेको छ । लेनदेनमा कुरा मिलेको छ भने लाइन क्लियर हुन्छ, नत्र पक्रिने गर्दछ, अर्का स्थानीय बिनो यादवले भन्नुभयो ।
स्थानीय एक पसलेका अनुसार बेलही प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ निरीक्षक हरीबहादुर चन्दको मिलेमतोमा यस्तो गतिविधि भइरहेको छ । त्यस्तै सो क्षेत्रमा हुने तस्करी कारोबारमा चनही महुवा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अमित राय समेत संलग्न रहेको उहाँको आरोप छ ।
स्थानीय स्रोतका अनुसार तस्करी गराउनका लागि सम्बन्धित प्रहरी चौकीका इन्चार्जहरूले तस्करहरूबाट मासिक पाँच लाख रुपियाँसम्म असुली गर्ने गरेको दाबी छ ।
सो विषयमा बेलही प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ निरीक्षक हरीबहादुर चन्दले त्यो विषयमा मलाई थाहा छैन भन्दै मोबाइल फोन काट्नु भयो । थप कुरा गर्न चाहनु भएन ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जिल्लामा अबैध आयात निर्यात भइनरहेको बताउनुभयो । यदि बेलही क्षेत्रमा त्यस्तो भइरहेको छ भने सत्यतथ्य बुझ्न निगरानी बढाउने उहाँले बताउनुभयो ।
सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जिल्ला मातहतका प्रहरी कार्यालयहरुमा गलत फाइदा उठाउने कार्य भइनरहेको दाबी गर्दै यस्ता कार्य सधैको लागि बन्द भएको बताउनुभयो । आफु कसैको एक कप चिया पनि खाएको छैन उहाँले भन्नुभयो प्रहरी चौकीमा आफु सधै बस्दैन, कहिकतै चौकी इन्चार्जले गलत गरिरहेको पाइएमा कारबाहीको भागिदार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको