मूल निवासी पार्टीका अध्यक्ष सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ निवासी इस्लाम एउटा बहु आयामिक व्यक्तित्व हुन् । उनी समाजिक क्षेत्र र राजनीतिक क्षेत्रमा अहिले सक्रिय रुपमा लागेका छन् । दलित जनजाती पार्टीको उपाध्यक्ष हुँदै गत संविधानसभाको निर्वाचनमा ६ नम्बर क्षेत्रबाट उम्मेदवार भएका थिए । सिएमए पदको जागिर छोडेर व्यापारीक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका इस्लाम एउटा राम्रो उद्योगी पनि हुन् । उनको दुवईमा परफ्युमको फ्याकट्री छ भने सप्तरीमा ईंटा उद्योग छ । प्रस्तुत छ आजको माई संचार डटकमले इस्लाम संग कुराकानी गरेको सम्पादित अंश ।
इस्लामजी तपाई समाजिक क्षेत्रमा पनि काम गर्नुहुन्छ, राजनीति पनि गर्नुहुन्छ, अहिले बढी ध्यान कतातिर छ ?
अहिले मेरो ध्यान दुवैतिर छ । तर बढी राजनीतिमा र उद्योग व्यापारमा पनि । किनभने राजनीति पनि व्यापार संग जोडिन्छ । आर्थिक सपोर्ट भएन भने राजनीति गर्नमा समस्या नै हुन्छ ।
विशनपुर चोक देखि बोदे बरसाईन सम्मको सडक मर्मत गर्ने काममा लाग्नु भएको छ । यो तपाईंको नीजि लगानी हो कि यसमा अरु कसैको सहयोग प्राप्त छ ?
हैन, यो मेरो व्यक्तिगत लगानी हो । म त कत्तै जाँदिन, जिल्ला विकास पनि जाँदिन । जनताको दुःख पीडा हेरेर सडकको ठाउँ–ठाउँमा भएको खाल्टोमा ग्राभेल खसाएर पुर्ने काम गरिरहेको छु । करीब ६ लाख सम्मको खर्च छ । अहिले सम्म ५ लाख पुगिसके होला ।
यसअघिको निर्वाचनमा तपाई राम्रै मत ल्याउनु भएको थियो कहिं अव आउने चुनावमा मतदातालाई आकर्षित गर्न यस्तो काममा लाग्नु भएको हो कि ?
हैन, यसको लागि मैले गरेको हैन् । यो जनताको विचार हो मैले जनताको भलाईको लागि यो काम गरेको छु । भोट लिने कुनै रणनीति होईन् तर जनताले मलाई दियो भने त्यो उनीहरुको विचार हो मैले सम्मान गर्नुपर्छ ।
त्यसो भए आउने निर्वाचनमा उम्मेदवारी दिनुहुन्छ ?
एक दम, त्यो त प्रष्टै छ । म छोड्छु कहाँ र चुनाव त लडि नै रहन्छु ।
देशको अहिलेको परिस्थितिलाई कसरी हेर्नुहुन्छ ?
देशको परिस्थिति बारे भन्नु पर्दा म पहिला मधेशको कुरा गर्छु । यहाँका मधेश केन्द्रितदलहरुले माथि–माथि के के गर्छन् त्यो त उनीहरुलाई थाहा हुन्छ । मधेशको मुद्दा र मागको बारे म संग कुनैदलले छलफल गर्दैन तर म उनीहरु संग कुराकानी गरिरहन्छु र कहाँ के गर्नुपर्छ म त्यसको लागि पनि तयार छु ।
अहिलेको संविधानमा सर्वस्वीकार्य छ कि छैन् ?
संविधान सर्वस्वीकार्य भएको भए यत्रो आन्दोलन किन हुन्थ्यो । संविधानमा त्रुटि छ र सत्तापक्षले कुनै पनि स्वार्थको भावनाले नभई निस्वार्थ भावनाका साथ सबैले मान्ने किसिमको संशोधन गर्नुपर्छ ।
त्यसो भए तपाई आन्दोलनलाई समर्थन गर्नुहुन्छ ?
म समर्थन गर्छु तर सरकारले असंतुष्ट पक्षको माग सम्बोधन गरिदिनु प¥यो ।
 देशमा आन्दोलन हुन्छ, समझौता पनि हुन्छ तर कार्यान्वय किन हुँदैन ?
यो सबै खस ब्राम्हणवादीहरुको कारणले हो । अहिलेको संविधान पनि उनीहरुको लागि ठिकै छ । तर मधेशीको माग पुरा भएको छैन् । खस ब्राह्मणवादीहरुले आफ्नो सोचमा परिवर्तन ल्याए सबै समझौता कार्यान्वयन हुन्छ ।
मधेशमा धेरै पार्टी छ तर पनि तपाईले मूल निवासी पार्टी बनाउनु भयो किन ?
भारतमा धेरै पार्टी छ तर केजरीबाल लाई हेर्नुस् । भ्रष्टाचारलाई मुद्दा बनाएर आन्दोलन गरेको अन्ना हजारेलाई छोडेर आम आदमी पार्टी बनायो अहिले दिल्लीमा सरकार चलाउँदै छन् । राम्रो काम पनि गर्दैछन् । हुनसक्छ म र मेरो पार्टी पनि राम्रो काम गर्छ भने भोलिका दिनमा सत्ता चलाउन सक्छन् ।
 तपाईं राजनीतिज्ञ बढी कि उद्योगी ?
उद्योग नभए राजनीति गर्न सकिदैन । राजनीति र उद्योग एक अर्काका पुरक हुन् । राजनीतिका लागि उद्योग चाहिन्छ । जसरी भएपनि म चुनाव लड्ने हो । हाम्रो पार्टी अहिले ११ जिल्लामा छ र दशैंपछि विस्तारमा लाग्छु त्यसका लागि पनि खर्च चाहिन्छ र आर्थिक सपोट उद्योग बाटै आउँछ ।
भारत पाकिस्तानबीच तनाव छ, सार्क सम्मेलन स्थगित हुने अवस्था पुगिसक्यो के भन्नु हुन्छ ?
म त भन्छु यो तनाव कम हुनु पर्छ र सार्कका सबै देश मिलेर तोकिएकै समयमा सार्क सम्मेलन सम्पन्न गरिहाल्नु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको