काठमाडौँ – सरकारी स्वामित्वको नेपाल टेलिकमको खस्कँदो नाफा तथा परियोजनाहरुमा हुने संस्थागत भ्रष्टाचार मौलाएको भन्दै नागरिक अभियान नेपालको आह्वानमा आज नागरिकहरुले खबरदारी सभा गरेका छन् ।

काठमाडौँको भद्रकालीस्थित टेलिकम कार्यालय अगाडि भएको खबरदारी सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनिया, भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही, नागरिक अभियान नेपालका हरेराम रिमाल लगायतले टेलिकमको आम्दानी घट्दै जाँदा पनि सरकार र सरोकारवालाहरु सजग नभएको भन्दै चिन्ता व्यक्त गरे । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले निजी कम्पनी एनसेल अड्डा अदालतबाट करमा पनि छुट हुँदै जाने, नाफा बढाउँदै जाँदा नेपाल टेलिकमको आम्दानी भने घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने –‘‘सरकार संस्थानलाई देख्नै नहुने भयो, ४४ संस्थान हिजोका दिनमा कौडीको भाऊमा बेचिए, अब टेलिकम पनि त्यस्तै बनाउन खोजिएको छ । ’’

उनले फोर जी विस्तारमा नेपाल टेलिकमका अधिकारी विभागीय मन्त्रीसँग मिलेर संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने –‘‘ अहिलेका मन्त्री बाँस्कोटाले नेपाल टेलिकम पनि घाटामा लगेर निजीकरणमा लैजान लागे ।

४ अर्बमा एनसेलले फोरजी विस्तार गर्न सक्छ । नेपाल टेलिकमलाई किन १८ अर्ब ? नीतिगत भ्रष्टाचार भएको छ ’’ उनीहरुलाई भ्रष्टाचारका लागि चिनिया टेलिकम्युनिकेश हुवावेको डिजाइन रहेको उनको भनाइ छ । उनले भने–‘‘ अहिले कामको खोजीमा ८० लाख युवा विदेशिएका छन् । तर अर्बौँका परियोजना ओगट्ने हुवावे र उसका कम्पनीहरुले नेपालमा विदेशी कामदार नै ल्याएका छन् । ’’

सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनियाले नेपाल टेलिकमका कर्मचारी नै टेलिकम बचाउन लाग्नुपर्नेमा विदेशीको प्रभावमा चुप बसेको बताए । उनले भने –‘‘ टेलिकम धराशायी बन्न लागेकाले शासक जिम्मेवार बन्नुपर्छ । फोरजी लगायतमा भएको भ्रष्टाचार र टेलिकमको खस्कँदो नाफाबारे जाँचबुझ आयोग गठन गर्नुपर्छ । ’’

नागरिक अभियानका हरेराम रिमालले कर छली गरेर राज्य ठग्ने एनसेलबारे सर्बोच्च अदालतमा फैसलासमेत उल्टिनु, एनसेलले कर छली गर्नुलाई आशंकाको विषय भएको बताए । ठूला परियोजनामा नेपालीले नै काम पाउनुपर्ने भन्दै टेलिकमका ठूला परियोजना ओगटेका कम्पनीहरुले नेपालीहरुलाई नै काम दिनुपर्ने बताए ।

सभामा झण्डै एक सय उपस्थित थिए । सभामा सहभागीहरुले निजी कम्पनी र नेपाल टेलिकमका परियोजना ओगट्ने हुवावे लगायतका कम्पनीका कारण टेलिकम धराशायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो । बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा आगामी दिनमा पनि खबरदारी अभियान निरन्तर गरिरहने प्रतिबद्धता जनाएका छन ।

के हो हुवावे ?

हुवावे कम्पनी अहिले चर्चामा छ । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा हुवावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं हुवावेकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिएका थिए । यद्यपि ढिला गरेर उसले जानकारी दिएको थियो । यससँगै हुवावे कम्पनीको विषयमा सतहमा आएको छ ।

हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ । यदि यो आरोपका पुष्टि भएको खण्डमा मङ्गलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । उनले छुट्टै कम्पनी स्थापना गरी इरानमा व्यापार विस्तार गरिरहेको आरोप लगाइएको छ ।

जापानले पनि चिनियाँ कम्पनीहरू हुवावे र जेटीईका उत्पादनहरूमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारी प्रयोगका दूरसञ्चार सामग्रीहरुमा हुवावे तथा जेटीईको प्रयोगमा रोक लगाउने पक्षमा जापान रहेको हो ।

कुन–कुन देशमा प्रतिबन्धित छ हुवावे ?

हुवावे कम्पनी पछिल्लो समय सुरक्षाको हिसाबमा जोखिम रहेको भन्दै विभिन्न मुलुकहरुमा कारबाही भोगिरहेको छ । यस्तैमा न्युजिल्याण्डले पनि ५जी सेवाको सामग्रीहरुको बिक्रीमा रोक लगाइसकेको छ ।

हुवावेलाई ५जी नेटवर्कका सामग्रीहरु बिक्रीमा रोक लगाउनेमा न्युजिल्याण्ड पहिलो मुलुक भने होइन । यसअघि अष्ट्रेलियाले पनि हुवावेमाथि रोक लगाउने निर्णय गरेको थियो । साथै क्यानडाले पनि हुवावेको सामग्रीहरुमा सुरक्षा जोखिमबारे अनुसन्धान अघि बढाउने निर्णय गरिसकेको छ ।

त्यसका साथै हुवावेमा रोक लगाउने अर्को मुलुक अमेरिका हो । महत्वपूर्ण कुरा के छ भने जुन मुलुकमा हुवावेमाथि प्रतिबन्धको तयारी गरिन्छ, सो मुलुकमा सुरक्षाको कारण पहिलो प्राथमिकतामा हुने गरेको छ । यसले पनि हुवावेका उत्पादनहरुमा केही न केही सुरक्षाको जोखिम पक्कै रहेको स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको