काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारसँग जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक वक्तव्य जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्- ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो । यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’
उनले आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुबै भएको बताएका छन् ।
महामन्त्री पौडेलले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले सार्वजनिक नगर्दा अनेक आशंका जन्माएको उल्लेख गर्दै थप भनेका छन्- ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ ।’
गत भदौ २३ र २४ गते भएको जेनजेड युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर हालसम्म उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ।







