काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री वैशाखको अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी वैशाख २८ र २९ गते काठमाडौंमा रहने कार्यक्रम तय भएको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पदभार ग्रहण गरेपछि भारतबाट नेपाल आउने मिश्री सबैभन्दा उच्चस्तरीय अधिकारी हुनेछन् । यसलाई नेपाल–भारत सम्बन्धमा नयाँ सरकारसँग प्रारम्भिक कूटनीतिक समन्वयको रूपमा हेरिएको छ।
मिश्रीको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी गर्ने रहेको बताइएको छ। यद्यपि भ्रमणका औपचारिक एजेन्डा सार्वजनिक भइसकेका छैनन् ।
उनले काठमाडौंमा रहँदा नयाँ सरकारको प्राथमिकता, द्विपक्षीय सहकार्यका क्षेत्र र नयाँदिल्लीको अपेक्षाबारे उच्चस्तरीय छलफल गर्नेछन् ।
यसअघि शनिबार नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको अन्तरक्रियामा मिश्रीले आफू छिट्टै काठमाडौं आउने बताएका थिए।







