विराटनगर। नेकपा एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा एकमत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा प्रदेश नेतृत्वबीच बुधबार पुनः छलफल हुने भएको छ।

एमाले कोशी प्रदेशका पदाधिकारीका अनुसार अध्यक्ष ओलीले बोलाएपछि छलफलमा सहभागी हुने तयारी गरिएको छ। छलफलको समय भने अझै तय गरिएको छैन। एक प्रदेश पदाधिकारीले भने, “अध्यक्षले बोलाएपछि जाने भनेर बसेका छौँ। आज जसरी पनि विषयको टुंगो लगाउने तयारी छ।”

मंगलबार अध्यक्ष ओलीले एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग मुख्यमन्त्री परिवर्तनबारे छलफल गरेका थिए। त्यसलगत्तै मुख्यमन्त्री कार्कीले पनि अध्यक्ष ओलीसँग एक्लाएक्लै (वान–टु–वान) भेटवार्ता गरेका थिए।

छलफलका क्रममा अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय दोहोर्‍याउँदै प्रदेश नेतृत्वलाई त्यसअनुसार अघि बढ्न निर्देशन दिएको स्रोतको दाबी छ। प्रदेश अध्यक्ष खतिवडा र सचिव भण्डारीले अध्यक्षको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

तर अध्यक्ष ओलीसँगको भेटमा मुख्यमन्त्री कार्कीले तत्काल नेतृत्व परिवर्तन गर्दा सकारात्मक सन्देश नजाने धारणा राख्दै राजीनामा दिन असहमति जनाएका थिए।

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै कार्कीसँग राजीनामा मागेका थिए। त्यसबेला मुख्यमन्त्री कार्कीले संस्थागत निर्णयबिना राजीनामा नदिने अडान लिएका थिए।

मुख्यमन्त्रीले राजीनामा नदिएपछि इन्चार्ज राईले विराटनगरमा प्रदेशसभा सदस्यहरूसँग वैकल्पिक रणनीतिबारे छलफल गरिरहेका छन्।

संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएका मुख्यमन्त्री कार्कीले राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढाउन कठिन हुने भएकाले पार्टी नेतृत्वलाई निर्देशन कार्यान्वयनमा चुनौती देखिएको छ।

यसअघि कार्कीलाई एमाले संसदीय दलको नेताबाट हटाउने तयारी पनि गरिएको थियो। तर संसदीय दलको नेताबाट हट्दैमा स्वतः मुख्यमन्त्री पद समाप्त नहुने संवैधानिक व्यवस्थाका कारण अहिले एमालेभित्र मुख्यमन्त्री परिवर्तनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक किचलो बढेको देखिएको छ।

आज हुने भनिएको छलफललाई कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे निर्णायक मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको