राजविराज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले राजविराज नगरपालिका-३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
आयोगका अनुसार भ्याक्सिनेटरमार्फत सम्पन्न गरिएको पशु खोप कार्यक्रमको भुक्तानी रकम उपलब्ध गराएबापत सेवाग्राहीबाट कमिसन माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरूले कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गरिदिएबापत २० प्रतिशत रकम कमिसनका रूपमा माग गरेको र सोही क्रममा घुस रकम लिएको देखिएको आयोगको दाबी छ ।
आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट उनीहरूले मिलेमतो गरी १ लाख ३२ हजार ३५० रुपैयाँ घुस/रिसवत लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर रहेको दाबी गरेको छ ।
आरोप पत्रमा उनीहरूबाट १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको माग गरिएको आयोगले जनाएको छ ।







