काठमाडौं। नेपालमा आयोजना हुने तयारीमा रहेको इन्टरनेशनल एसोसिएसन फर टिबेटन स्टडिज (IATS) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित गरिएको छ। नेपाल सरकारको निर्देशनपछि सम्मेलन स्थगित गरिएको जानकारी आयोजकहरूले बुधबार साँझ दिएका हुन्।

हिमालयन सेन्टर फर एसियन स्टडिज र काठमाडौं विश्वविद्यालयस्थित सेन्टर फर बुद्धिस्ट स्टडिजको संयुक्त आयोजनामा हुने सम्मेलन आगामी भदौ ७ देखि १२ गतेसम्म सञ्चालन गर्ने तयारी थियो। उद्घाटन सत्र धुलिखेलमा तथा बन्द सत्र र शैक्षिक छलफल काठमाडौंको सोल्टी होटलमा गर्ने कार्यक्रम तय गरिएको थियो।

आयोजकका अनुसार सम्मेलनमा करिब ४० देशका ७४० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। भारतस्थित दलाई लामाको केन्द्रीय तिब्बती प्रशासन (CTA) ले समेत प्रतिनिधिमण्डल पठाउने निर्णय गरिसकेको भए पनि सम्मेलन स्थगित भएसँगै सहभागिता रोकिएको जनाइएको छ।

यता सम्मेलन स्थगित भए पनि बौद्ध धर्मसँग सम्बन्धित टिचिङ एण्ड कोर्स प्रोग्राम भने काठमाडौं महानगरपालिका–६, बौद्ध तीनचुलीस्थित इन्टरनेशनल बुद्धिस्ट एकेडेमी मा निरन्तर सञ्चालन भइरहेको छ। भारतस्थित शाक्य कलेज को तत्वावधानमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आज १०औँ दिनमा पुगेको छ।

उच्च बौद्ध अध्ययन संस्थानका अध्यक्ष रत्नबज्र रिन्पोछे को उपस्थितिमा सञ्चालन भइरहेको कार्यक्रममा नेपालबाट ७०, भारतबाट ४०, भुटानबाट २० तथा विभिन्न स्थानका तिब्बती समुदायबाट ३० जनासहित करिब २५० जना सहभागी रहेको आयोजकले जनाएको छ।

सम्मेलन स्थगनको कारणबारे सरकारले औपचारिक विवरण सार्वजनिक गरेको छैन। तर सम्मेलनप्रति छिमेकी चीनले विशेष चासो राखिरहेको र यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको पूर्वसन्ध्यामा सम्मेलन स्थगित भएकाले यस घटनालाई विभिन्न राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

यद्यपि सम्मेलन स्थगन र राजनीतिक घटनाक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको