काठमाडौं। कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेकपा (एमाले) भित्र विभिन्न अड्कलबाजी भइरहेका बेला पार्टीका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई ले नेतृत्व परिवर्तन पार्टीको संस्थागत निर्णयअनुसार हुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कोशी प्रदेश सरकार : भ्रम र वास्तविकता’ शीर्षकमा धारणा सार्वजनिक गर्दै राईले नेतृत्व परिवर्तन कुनै व्यक्तिको चाहना वा योजनाअनुसार नभई पार्टीको निर्णय र निर्देशनका आधारमा अघि बढ्ने बताएका हुन्।
उनले नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गरिने उल्लेख गर्दै उक्त सहमति कार्यान्वयन गर्नु दुवै दलको दायित्व भएको बताएका छन्।
राईका अनुसार पार्टी अध्यक्षबाट पनि सहमति कार्यान्वयन गर्न संस्थागत निर्देशन प्राप्त भइसकेको छ। सोही निर्देशनअनुसार प्रदेश कमिटी, पार्टी नेतृत्व तथा मुख्यमन्त्रीबीच केही दिनयता आन्तरिक छलफल भइरहेको उनले जानकारी दिएका छन्।
उनले सहमति कार्यान्वयनका क्रममा केही प्राविधिक जटिलता देखिए पनि ती विषय पार्टीभित्र छलफलबाट समाधान हुने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले पार्टी अध्यक्षसँग प्रत्यक्ष भेट गरी थप निर्देशन लिएपछि बाँकी विषय पनि टुंगिने उनको भनाइ छ।
प्रदेश इञ्चार्ज, प्रदेश अध्यक्ष र सचिवलाई मुख्यमन्त्रीको भेटका लागि विशेष रूपमा काठमाडौं बोलाइएको भन्ने चर्चा पनि राईले अस्वीकार गरेका छन्। उनीहरू अन्य कामका सिलसिलामा काठमाडौं आएको र सोही अवसरमा पार्टी अध्यक्षसँग भेट तथा छलफल भएको उनले स्पष्ट पारे।
कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन आफ्नो व्यक्तिगत योजनाअनुसार भइरहेको भन्ने प्रचारलाई राईले ‘सफेद झुट’ र ‘गैरजिम्मेवार अफवाह’ को संज्ञा दिएका छन्। हस्ताक्षर अभियान सञ्चालन गरिएको वा नेतृत्व परिवर्तन इञ्चार्जको निजी योजनाअन्तर्गत भइरहेको भन्ने दाबीमा कुनै सत्यता नरहेको उनको जिकिर छ।
आफू सधैं पार्टीको नीति, विधि, नेतृत्व र निर्णयप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थका आधारमा राजनीति नगर्ने बताएका छन्। पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु नै आफ्नो राजनीतिक जीवनको मूल पहिचान रहेको उनको भनाइ छ।
राईले आफू कोशी प्रदेशको पहिलो मुख्यमन्त्री रहेका बेला पनि पार्टी नेतृत्वको निर्देशन प्राप्त हुनासाथ कुनै असन्तुष्टि नराखी नेतृत्व हस्तान्तरण गरेको प्रसंग स्मरण गराउँदै अहिले पनि पार्टीको निर्णय र निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।







